Logo

Banner-news

कोरोनाले पर्यटन क्षेत्रमा संकट, योगेश भट्टराई र युवराज खतिवडाको अग्निपरीक्षा !


GDP Nepal
   २३ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० को अन्तर्राष्ट्रिय प्रचारप्रसार स्थगित गरेको छ भने आन्तरिक रुपमा पनि अब भ्रमण वर्ष मनाउने अवस्था रहेन ।

चीनबाट सुरु भएको प्राणघातक कोरोना भाइरस (कोभिड–१९)को प्रभाव विश्वव्यापी भइरहँदा सरकारका लागि पर्यटक ल्याएर आम्दानी बढाउनेभन्दा आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने नै महत्वपूर्ण विषय हो । यसैले भ्रमण वर्ष स्थगितको निर्णय उपयुक्त नै छ तर भ्रमण वर्ष लक्षित लगानीको सुरक्षाका सन्दर्भमा भने सरकारले आँखा चिम्लिन मिल्दैन ।

नेपाल राष्ट्र बैंकले कोरोना भाइरस प्रभावित क्षेत्रको अध्ययन गरी पुनर्कर्जा सुविधासहित ऋण पुनर्तालिकीकरणको सुविधा उपलब्ध गराउने मौद्रिक नीतिमा उल्लेख गरेकाले केही राहतको श्वास फेर्ने अवस्था रहे पनि समग्रमा भने सरकारले पर्यटन क्षेत्र बचाउन प्याकेज नै ल्याउनुपर्ने अवस्था छ ।

फेब्रुअरीमा चिनियाँ पर्यटक आगमन संख्यात्मक रुपमा घटे पनि समग्रमा पर्यटक बढेकै देखिएको छ र मार्चको पहिलो सातासम्म त्यति ठूलो प्रभाव परिसकेको छैन किनकी अहिले ठूलो पर्यटकीय सिजन पनि होइन । तर, केही दिनमै सिजन सुरु हुने भएकाले यो बेला मूलतः पर्वतारोहणका लागि आउने पर्यटक लामो समयसम्म बस्ने र खर्च पनि बढी गर्ने भएकाले कोरोनाका कारण उनीहरुको नेपाल भ्रमण रद्द हुँदा निजी क्षेत्रले मात्र नभइ समग्रमा मुलुकको पर्यटन क्षेत्रले नै ठूलो क्षति बेहोर्नुपर्ने देखिन्छ ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशतभन्दा कममात्र छ भनेर यसलाई उपेक्षा गरियो भने यसबाट आश्रित ठूलो संख्यामा रोजगारी तथा साना तथा मझौला किसान, यातायात तथा हवाई व्यवसायलगायतका क्षेत्रमा साँच्चै ठूलो संकट आउने अवस्था छ । बैंकिङ क्षेत्रको कर्जा त मुख्य समस्या नै भइहाल्यो ।

यसैले कुनै पनि अन्तर्राष्ट्रिय संकटको सबैभन्दा छिटो असर पर्ने भनेकै पर्यटन क्षेत्र भएकाले यस्तो संकटबाट पर्यटन उद्योगलाई बचाइराख्न सरकार प्रोएक्टिभ हुनुपर्छ ।

काठमाडौंमात्र नभइ काठमाडौंबाहिर पनि नेपालको पर्यटन उद्योगको ठूलो बजार छ र अहिले यो थला पर्ने जोखिममा छ । व्यवसाय नै डुब्ने जोखिम भएपछि चितवनका कतिपय होटल व्यवसायीहरूले कामदारलाई ‘फोर्स लिभ’ दिन थालिसकेका छन् र यो अवस्था अझै लम्बिए कामदार कटौती वा प्रतिष्ठान नै बन्द गर्नेजस्ता उपाय अपनाउन अग्रसर हुनसक्छन् ।

यस्ता होटल तथा प्रतिष्ठान बन्द भए भने त्यसको नकारात्मक असर अर्थतन्त्रमा पर्ने भएकाले पनि सरकारको भूमिका अपेक्षित छ । त्यसै पनि भ्रमण वर्षको कमजोर तयारीलाई लिएर सरकारको आलोचना भइरहेका बेला सरकारका कतिपय उच्च अधिकारीका लागि कोरोनाले ध्यान अन्यत्रै मोडेकोमा राहत महशुस पनि भइरहेको होला ।

तर, संकटका अवस्थामा नै नेतृत्वको अग्निपरीक्षा हुने भएकाले विभागीय मन्त्री योगेश भट्टराई र प्रधानमन्त्रीले आफ्नै पद दाउमा राखेर पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिएका डा. युवराज खतिवडासामु पनि यो संकटलाई पार लगाउने दायित्व काँधमा आएको छ ।

यसैले कोरोना संकटबाट धरासायी हुँदै गएको नेपाली अर्थतन्त्रको दिगो विकासको आधार पर्यटन क्षेत्रलाई राज्य, निजी क्षेत्र र सबै सरोकारवाला मिलेर बचाउनु आजको मुख्य आवश्यकता हो ।

प्रकाशित : २३ फाल्गुन २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह