Logo

Banner-news

पश्चिम सेती आसपासमा ४० वर्षदेखि विकास अवरुद्ध


GDP Nepal
   २४ फाल्गुन २०७६, शनिबार


धनगढी । सुदूरपश्चिम प्रदेशकै गेमचेञ्जर मानिएको पश्चिम सेती आयोजनाको निर्माण अझै सुरु हुनसकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा उठाइने पश्चिम सेती आयोजना ४० वर्षदेखि चर्चामा सीमित छ भने स्थानीयलाई यो आयोजना निर्माण हुन्छ भन्ने पत्यार लाग्नसमेत छाडिसकेको छ । यतिका वर्ष बितिसक्दा पनि निर्माणको काम भने किन अगाडि बढेन भन्ने प्रश्नको जवाफ दिन राजनीतिक नेतृत्वले सकेको छैन । यद्यपि यस क्षेत्रका केही स्थानीयमा चार दशकदेखि चर्चामा रहेको पश्चिम सेती परियोजना बन्छ कि भन्ने झिनो आशा भने बाँकी नै छ ।

पश्चिम सेती परियोजनाको निर्माण स्थलका बासिन्दाले दशकौं पहिला परियोजना निर्माण हुने सपना सजाएका हुन् । केही कम्पनीले स्थलगत प्रतिवेदनसमेत तयार पारेपछि आयोजना बन्छ भन्ने उनीहरूको आशा कहिल्यै पूरा हुन सकेन । पश्चिम सेती परियोजना सुरु हुने हल्लाले अन्य विकासबाट वञ्चित बन्नु परेको स्थानीयवासीको दुःखेसो छ ।


दशकौँ पहिलेदेखि विभिन्न विदेशी कम्पनीसँग सम्झौता भई केही काम सुचारुसमेत भएको स्थानीय जोगे धामी सम्झिन्छन् । “मैले सम्झेसम्म यो परियोजना २०३५ सालमा सुरु भएको हो, त्यतिबेला म डडेल्धुरा अध्ययन गर्दथें, अहिले २०७६ साल पनि सकिन लाग्दा कुनै पनि काम भएको छैन,” उनले भने, “पश्चिमका दुईजना प्रधानमन्त्री (लोकेन्द्रबहादुर चन्द र शेरबहादुर देउवा) भएका बेला त बनेन भने अब के बन्ला र ?”

सन् १९८१ देखि पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण चर्चा सुरू भएको थियो । त्यति बेला फ्रान्सेली संस्था सोग्रेहको र १९९४ मा नेपाल सरकारको विद्युत् विकास केन्द्र अष्ट्रेलियन वहुराष्ट्रिय कम्पनी स्मेकबीच समझदारी पत्रमा हस्ताक्षर भएका थियो । १९९७ मा नेपाल सरकार र वेस्ट सेती हाइड्रोबीच ७५० मेगावाट आयोजना निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो ।

डडेल्धुराको बेलापुर र बैतडीको ढुंगाडका बस्ती र डोटी जिल्लाकाको सेती परियोजना लागू हुने स्थान तथा बाँध बाँधिने ठाउँमा विभिन्न काम भएको् तीन दशकदेखि चर्चाको विषय बन्दै गइरहेको पश्चिम सेती आयोजना स्थलको पटक पटक भौगर्भिक अध्ययन भए पनि सार्थक रूपमा काम हुन सकेको छैन ।

कतिपय सरकारमा बस्ने नेतृत्वले यस परियोजनाको नाममा भोटसमेत मागे, पटक पटक आश्वासन दिए तर परियोजना लागू हुने अवस्था भने ३० वर्ष पहिलाको जस्तै छ । पश्चिम सेती परियोजनाको पलाएको आशा मरिसकेको प्रभावित क्षेत्रका सर्वसाधारणको बुझाइ छ । न परियोजना लागू भयो न त पश्चिम सेती किनार छेउमा ग्रामीण बस्तीमा विकास नै हुन सक्यो । डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ र ५, बैतडीको सिगास गाउँपालिका, डोटीका आदर्श गाउँपालिका र बझाङका केही गाउँमा विकास हुन नसकेको स्थानीयले बताए । “जनप्रतिनिधि आएपछि सडक, बत्ती, बाटोघाटो, विद्यालय भवन, खानेपानी जस्ता विकास निर्माणका काम हुन्छन् कि भन्ने लागेको थियो तर हाम्रा अन्य सपना पनि पश्चिम सेती परियोजनाजस्तै भयो” उनीहरू भन्छन् ।

प्रकाशित : २४ फाल्गुन २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह