काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दलको नेता फर्ने तयारी गरेसँगै मुख्यमन्त्री बहादुर लामा प्रतिरक्षामा उत्रेका छन् ।
लामा क्याबिनेटमा रहेका चार जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । तर, लामाले उनीहरुको राजीनामा स्वीकृत नगरी पदमुक्त गरिएको जानकारी प्रदेश प्रमुखलाई गराएका छन् ।
राजीनामा दिनेमा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन् ।
तर, लामाले चार जना मन्त्रीलाई पदमुक्त गरिएको भन्दै दलको नेता फेर्ने योजनालाई काउन्टर दिएका छन् ।
मुख्यमन्त्री विरुद्ध २१ सांसदको अविश्वास प्रस्ताव दर्ता भैसकेको छ, जसमा ति ४ मन्त्रीको पनि हस्ताक्षर रहेको छ ।
कांग्रेस प्रदेश सभापतिसमेत रहेका इन्द्र बानियाँलाई दलको नेता बनाउन बहुमत जुटेको छ ।
२०७९ पुसमा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा बागमती प्रदेश सभापति बानियाँ लामासँग ५ मतले पराजित भएका थिए ।
बानियाँ संस्थापन पक्षमै रहे पनि पछिल्लो समय नेता प्रकाशमान सिंह निकट हुँदै गएका छन् भने लामा डा. प्रकाशशरण महतनिकट मानिन्छन् ।









प्रतिक्रिया