Logo

अर्थनीति

अब चल्ने छैन ‘माई वर्ल्डलिंक’: निशुल्क इन्टरनेटमा सरकारको आँखा लाग्यो


gdpnepal
   १३ श्रावण २०८२, सोमबार


काठमाडौं । सार्वजनिक स्थलमा बसेर निशुल्क इन्टरनेट चलाइरहनु भएको छ ? छ भने अब त्यो सेवा बन्द हुँदैछ । किनकी तपाइँले सित्तैमा इन्टरनेट चलाएको यो सेवामा ‘सरकारको आँखा लागेको’ छ ।

सार्वजनिक स्थलमा सञ्चालन भइरहेको ‘माइ वर्ल्डलिंक’ सेवा अब लगइन नहुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाइ हटस्पट सेवामा प्रतिबन्ध लगाएसँगै माइ वर्ल्डलिंकको सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स प्रालिले यो सेवा बन्द गर्नुपर्नेछ । प्राधिकरण यस क्षेत्रको नियामकीय निकाय हो ।

प्राधिकरणले आइतबार सूचना प्रकाशित गर्दै इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीलाई वाइफाइ हटस्पट सेवा सञ्चालनको अनुमति नभएको स्पष्ट पारेको हो ।

प्राधिकरणको यस्तो निर्देशनसँगै हाल काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सार्वजनिक स्थलमात्र नभै होटल तथा रेष्टुराँहरुमा उपलब्ध भइरहेको वाइफाइ हटस्पट सेवा पनि बन्द हुनेछ ।

नेपाल टेलिकमसहितका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले आम्दानी घटेको भन्दै यस्तो सेवामा प्रतिबन्ध लगाउन प्राधिकरणसँग माग गर्दै आएका थिए ।

वल्र्डलिंकले आफ्ना ग्राहकलाई घरबाहिर पनि वाइफाइ हटस्पटमार्फत निशुल्क इन्टरनेट सेवा दिँदै आएको छ । जसका कारण नेपाल टेलिकम र एनसेलको डेटा खपत कम भएको भन्दै यो सेवामा रोक लगाउन दुवै कम्पनीले आग्रह गर्दै आएका थिए ।
प्राधिकरणका अनुसार आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभूत टेलिफोन सेवा गरी तीन प्रकारका सेवा लिएका कम्पनीले मात्र वाइफाइ हटस्पट सेवा सञ्चालनको अनुमति प्राप्त गरेका छन् ।

जसमा आधारभूत दूरसञ्चार सेवाको अनुमति नेपाल टेलिकमसँग मात्र छ भने मोबाइल टेलिफोन सेवाको अनुमति नेपाल टेलिकम र एनसेलसँग रहेको छ । यस्तै, आधारभूत टेलिफोन सेवाको अनुमति भने युनाइटेड टेलिकम (यूटीएल)ले मात्र प्राप्त गरेको छ ।

यसबाहेक हाल वाइफाइ हटस्पट सेवा प्रदान गरिरहेको वल्र्डलिंकसँग भने उल्लेखित तीनवटै अनुमति नभएका कारण उसले हाल प्रदान गरिरहेको सेवा रोकिने भएको हो । हाल यस कम्पनीसँग इन्टरनेट र नेटवर्क सेवा प्रदायकको अनुमति मात्र रहेको छ ।

प्राधिकरणको विनियमावली अनुसार तीन प्रकारका अनुमति लिएका कम्पनीले मात्र निश्चित क्षेत्र वा परिधि भित्र वाईफाई हटस्पट सञ्चालन गर्न सक्ने व्यवस्था छ । एक पटकको लगइनबाट निश्चित समयावधि वा मात्राको लागि वाइफाइ हटस्पट सेवा प्रयोग गर्न सकिनेछ ।

यस्तै, वाइफाइ हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य सम्बन्धी ) नीति लगायतको पालना अनिवार्य रुपमा गर्नुपर्ने जनाइएको छ ।

जसमा पावर लिमिट, ब्याकबोन, रेष्ट्रिक्सन लगायतका शर्तहरु अनिवार्य रुपमा पालना गरी प्राधिकरणबाट टाइप अप्रुभल भएको रेडियो उपकरणहरु मात्र प्रयोग गर्न गराउन सकिने उल्लेख छ ।

प्राधिकरणले जथाभावी हटस्पट वाइफाइ सेवा सञ्चालन गरिरहे प्रचलित कानून बमोजिम कारवाही गरिने भन्दै वर्ल्डलिंकको नाम उल्लेख नगरी कारबाहीको चेतावनी पनि दिएको छ ।

 

प्रकाशित : १३ श्रावण २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह