काठमाडौं । यस वर्ष नेपालबाट कोरियाले ५ हजार ३ सय कामदार लैजाने भएको छ ।
वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले यस वर्षका लागि कोरियन भाषा परीक्षाका निमित्त आवेदन माग गरेको छ । शाखाले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो ।
उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय कोटा तोकिएको शाखाले जनाएको छ ।
कोरियन भाषा परीक्षाका लागि यही साउन २६ देखि ३१ गतेसम्म आवेदन दिन सकिने र आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, नेपाली नागरिक हुनुपर्ने शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
भाषा परीक्षा भने काठमाडौं केन्द्रबाट सञ्चालन हुनेछ ।
ईपीएस प्रणालीअन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरूका लागि भाषा परीक्षा अनिवार्य गरिएको छ । आवेदकले आवेदन फारम अनलाइन प्रणालीमा गएर भर्नुपर्नेछ।
परीक्षा शुल्क २८ अमेरिकी डलर निर्धारण गरिएको छ । सोमबारको विनिमय दरअनुसार ३ हजार ८ सय ६६ रुपैयाँ पर्दछ ।
परीक्षाको समयतालिका भने पछि प्रकाशित गर्ने शाखाले जनाएको छ ।










प्रतिक्रिया