काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि भन्दै सोमबारदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । जसअनुसार काठमाडौं छिर्ने नाकाबाट अब यात्रुवाहक बस प्रवेश गर्न र बाहिरिन पाउने छैनन् ।
तर, सरकारले आन्तरिक उडान गर्ने जहाजमा भने कुनै रोक लगाएको छैन । जसअनुसार काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढी होस् वा पूर्वको चन्द्रगढी नै किन नहोस्, एयरलाइन्सहरुले धमाधम उडान गर्न पाउनेछन् ।
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा यतिबेला गोँगबुको नयाँ बसपार्कजत्तिकै भीडभाड छ । यस्तै, एउटा जहाजले ७२ जना यात्रु ओसारपसार गर्छन् । यसरी सार्वजनिक बसबाट सर्ने कोरोना जहाजबाट भने सर्दैन भन्ने सरकारको विश्लेषण र नीतिका कारण धेरै आश्चर्यमा परेका छन् ।
कोरोना फैलिन नदिन जो जहाँ छ, त्यहिँ बसोस् भनेर नै सरकारले लामो दूरीका बसमाथि प्रतिबन्ध लगाएको बुझ्न कठिन छैन । यसको अर्थ जहाजबाट आवतजावत गर्नेले कोरोना संक्रमण बोक्दैन भन्ने गलत सन्देश सरकारले दिन खोजेको देखिन्छ ।
सरकारको कार्यशैलीलाई नजिकबाट नियालिरहेका विश्लेषकहरु भन्छन्– यो निजी एयरलाइन्सको प्रभावमा सरकारले जनतामाथि गरेको बेइमानी हो । आम सर्वसाधारण चढ्ने सार्वजनिक बस बन्द गराएर जनतालाई जहाज चढ्न बाध्य बनाइने नियत सरकारी निर्णयले पुष्टि गरेको छ ।
हुन पनि सरकारका पछिल्ला गतिबिधिमा यति समूहको प्रभाव देखिँदै आएको छ । यसैले विश्लेषकहरुको टिप्पणीमा केही सत्यता नहोला भन्न पनि सकिँदैन । एयरलाइन्सहरुले यात्रु चाप बढेसँगै सस्ता टिकटको बिक्री बन्द गरेसँगै माथिल्लो क्यापका मूल्यका दरमात्र सार्वजनिक गरिरहेका छन् ।
ट्वीटरमा विश्लेषक राजु नेपाल लेख्छन्–
धरोधर्म मैले नबुझेको कुरा …
लामो दुरीका सार्वजनिक सवारीका साधन बन्द गरेर हवाई जहाज किन बन्द नगरेको होला ? हाम्रा हवाई यात्रा छोटो दुरीका भएर हो कि ?
अनि अर्को कुरा …
भोलि सरकारले अरु सबै एअरलाइन्स वन्द, यति एअर मात्रै उड्न पाउने भन्यो भनेपनि म अब चाहिं अचम्म मान्दिन है ? @rajunepal
प्रतिक्रिया