माओवादी नेता भरत थापा भ्रष्टाचारी ठहर: एक वर्ष कैद र साढे ३ करोड जरिवाना
काठमाडौं ।सर्लाहीका माओवादी नेता तथा बागमती नगरपालिकाका विवादास्पद मेयर भरतकुमार थापाले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर भएको छ ।
विशेष अदालतले बुधबार मेयर थापाले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको हो । भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको अभियोगपछि थापा एक वर्षयता निलम्बनमा छन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो ठहर गरेको जनाइएको छ ।
निलम्बित मेयरले गैरकानुनी सम्पत्ती आर्जन गरेको ठहर गर्दै बुधबार एक वर्ष कैद सजाय र बिगोबमोजिम ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना तोकेको हो ।
अदालतले मेयर थापा र उनको परिवारको आय र व्ययको विश्लेषण गर्दा आयभन्दा व्यय ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ २३ पैसा देखिएको जनाएको छ ।
‘प्रतिवादी भरतकुमार थापा र निजका एकासगोलका अन्य प्रतिवादीहरूको समग्र आय-व्ययको सम्बन्धमा मूल्याकंन गर्दा कूल आय ९ करोड १४ लाख ३१ हजार ३ रुपैयाँ ९१ पैसा र कूल व्यय १२ करोड ५९ लाख ५३ हजार ३९१ रुपैयाँ १४ पैसा देखिन आई कूल आयभन्दा व्यय ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ बढी देखियो,’ फैसलामा भनिएको छ ।
फेसलामा निज प्रतिवादीले गैरकानुनी रुपमा आर्जन गरेको देखिन आई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि भएको उल्लेख छ ।’निज प्रतिवादी भरतकुमार थापालाई सोही दफा २० को उपदफा (२) बमोजिम १ (एक) वर्ष कैद र बिगो बराबर ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ जरिवाना हुने ठहर्छ,’ फैसलामा भनिएको छ ।
थापासँग बिगोबाहेक बढे/बढाएको सम्पत्तिसमेत जफत गर्न अदालतले आदेश दिएको छ ।










प्रतिक्रिया