Logo

Banner-news

पशुपति कोषको मानवीय कर्मः बाँदरलाई खाना, परेवालाई चारो र बेसहारालाई भोजन !


GDP Nepal
   १९ चैत्र २०७६, बुधबार


काठमाडौं । लकडाउनले आम जनताको दैनिकी ठप्प भएसँगै मानव जातिसँग आश्रित मन्दिर क्षेत्रका परेवा, बाँदर पनि नराम्ररी प्रभावित भएका छन् । यतिमात्र नभइ पाशुपत क्षेत्रमा रहेका दर्जनौं बेसहरा पनि भोकभोकै मर्ने अवस्था आएसँगै पशुपति क्षेत्र विकास कोषले तत्परता देखाएको छ ।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालका अनुसार पाशुपत क्षेत्रमा प्राणीसेवा, घाटसेवा र मानवसेवा एकसाथ सुरु गरिएको छ । उनका अनुसार कोरोना कहरका कारण समस्यामा परेका बाँदर, कुकुर, गाई, परेवालाई पशुपति क्षेत्र विकास कोषले विभिन्न सहयोगी संस्था र व्यक्तिहरुसँगको सहकार्यमा विहान ६ बजे र दिउसो ३ बजे दिनको दुईपटक खाना–दानाको व्यवस्था गर्दै आइरहेको छ ।

“आमजनमानसमा रहेको चासोको हामी सम्मान गर्दछौँ । कोष यस विषयमा गम्भीर छ र आफ्नो कर्तव्य पूरा गरिरहेको छ,” डा. ढकाल भन्छन्, “पाशुपत क्षेत्रमात्र होइन, प्राणीसेवाका लागि अन्य क्षेत्रमा पनि हामीले हाम्रो कर्तव्यको दायरालाई फैलाएका छौँ । विभिन्न संघसंस्थासँग समन्वय गरेर कार्य गरिरहेका छौँ । आवश्यकता अनुसार हामी यो दायरालाई बढाउन तयार पनि छौँ ।”

ढकालका अनुसार दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने र बेसहारा बनेर सडकमै बस्नुपर्ने बाध्यता भएका मानवहरुका लागि पनि व्यक्तिगत प्रयासमा उदारमना महानुभावहरुसँगको सहकार्यमा हरेक दिन विहान १२ बजेदेखि २ बजेसम्म सुमार्गी भवनमा निशुल्क भोजनको प्रबन्ध गरिएको छ ।

यस्तै, शवदाह गर्नका लागि कर्मचारीहरु कार्यक्षेत्रमै रहेको उनले जानकारी दिए । कर्मचारी अभावका कारण यो काम नरोकिने उनको भनाइ छ ।

“कर्मचारीहरुका पनि परिवार छन् – विषम परिस्थितिमा संवेदनशील क्षेत्रमा कार्य गर्दा परिवारबाट चासो व्यक्त हुनु स्वाभाविकै हो । तर हामी जिम्मेवार छौँ । हामीले हाम्रो कर्तव्य पूरा गर्छौँ नै,” सदस्यसचिव ढकालले भने, “कोषका पदाधिकारीनै पनि परिआएका जुनसुकै कर्म गर्न तयार छन् । अर्को कुरा, मलामी आएका कतिपय व्यक्तिहरुले आफै पनि मद्दत गर्नुभएको छ । हामीले विद्युतीय शवदाह गृहको क्षमता बढाउनेतर्फ पनि तयारी गरिरहेका छौँ ।”

सदस्यसचिव ढकालले बुधबार फेसबुकमा एउटा लामो टिप्पणी र केही तस्बिर पनि राखेका छन् । उनी भन्छन्– भगवानको ठाउँमा बसेर आफूले आफ्नो कर्तव्य निर्वाह गरिरहँदा आफू र आफ्नो सहकर्मी साथी र उदारमना व्यक्तिहरुले कर्म गरेको तश्वीर छाप्न त्यति मन त लाग्दैन तथापि आमजनमानसमा चासो बढिरहेकोले केही तश्वीर पनि सँगै राखेको छु । क्षमाप्रार्थी छु ।

ढकालले सबैलाई यसमा सहकार्य गर्न आग्रहसमेत गरेका छन् । उनी भन्छन्– आउनुहोस्, तपाईँ–हामी सबै मिलेर यो विषम परिस्थितिको सामना गरौँ । हामी सबैले मानव हुनुको कर्तव्य निर्वाह गरौँ । मानवीय समस्याको यस घडीमा सबैले आ–आफ्नो तर्फबाट गम्भीरतापूर्वक कर्तव्य निर्वाह गरौँ भन्ने पनि आग्रह गर्न चाहन्छु । पृष्ठभूमिमा रहेर कार्य गर्ने मेरा साथीहरु, सहयोग गर्ने उदारमना व्यक्तिहरुमा नमन गर्न चाहन्छु ।

प्रकाशित : १९ चैत्र २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह