काठमाडौं । बृहत नागरिक आन्दोलनले नेपाली सेनाको भूमिकाप्रति संशय व्यक्त गरेको छ । ‘प्रतिक्रान्तिलाई परास्त गरौं !’ भन्दै आन्दोलनका अगुवाले जेनजीको आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदै गरेको बताएको छ ।
“यो हामीलाई पटक्कै स्वीकार्य छैन । जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस् भन्ने थियो न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने थियो,” आन्दोलनले भनेको छ, “यो हुँदै गरेको प्रतिक्रान्तिलाई परास्त गर्नु अहिले तत्कालको सबैभन्दा महत्वपूर्ण चुनौति हो ।”
जेनजीको आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि संगठित र लामो समयदेखि तयारी गरेअनुसार नागरिकप्रति उत्तरदायी सबै राज्यका संस्थाहरू र निजी क्षेत्रको भौतिक, आर्थिक र मनोवैज्ञानिक दहन गर्ने तत्वहरू अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य रहेको आन्दोलनको भनाइ छ ।
“नेपाली सेनाको यो किसिमको भूमिका अति खेदपूर्ण छ र अविलम्ब सच्च्याइनुपर्छ,” नागरिक आन्दोलनले भनेको छ, “यदि कामपा मेयर बालेनले पनि यिनै तत्वहरूसँग सहकार्य गरिरहेका हुन् वा सेनालाई नागरिकको टाउकोमा टेक्न प्रेरित गरिरहेका हुन् भने उनलाई पनि प्रतिक्रान्तिका नायक भनेर चिन्नेछौं । उनले यो कुरा तुरुन्त मनन गरेर आफू उभिने कित्ता स्पष्ट पारून् ।”
आन्दोलनको विज्ञप्तिमा भनिएको छ, “जेनजी का भाइबहिनीहरू जो यो प्रतिक्रान्तिविरुद्ध हुनुहुन्छ र बृहत् नागरिक तप्काबाट सहयोग मागिरहनुभएको छ, उहाँहरूको साथ दिन यो देशका समग्र नागरिक, विभिन्न किसिमले संगठित राजनैतिक, पेसाकर्मी र अन्य नागरिक समूहहरूले निर्धक्क सहयोग गर्नुपर्छ ।”
प्रतिक्रान्तिकारीहरूको यो सल्बलाहटलाई परास्त गर्न जेनजीहरूले फेरि सडकमै जानुपर्ने अवस्था देखिंदै रहेको र उनीहरूको नेतृत्वमा आफूहरु सबै पनि सडकमा उत्रन तयार रहेको वृहत नागरिक आन्दोलनले जनाएको छ ।
यस सङ्गीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने हाम्रो सबैभन्दा बलियो किल्ला नै २०७२ को नेपालको संविधान हो भन्दै त्यसमा अडिग रहेर त्यसका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ ।
“अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कतासाथ अघि बढ्नुको विकल्प छैन,” विज्ञप्तिमा भनिएको छ, “यस संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पुरा गरोस् ।”
‘तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गरोस्, र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू होऊन्’ भनिएको छ ।
अब बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारीहरूको कुनै पनि स्थान नहुने सुनिश्चित गर्नुपर्ने र यस विषयमा जेनजीहरूलाई जस्तोसुकै साथ दिन पनि नागरिक समाज तयार रहेको उल्लेख छ ।
“जेनजी क्रान्तिलाई सफल बनाऔं । प्रतिक्रान्तिलाई परास्त गरौं । शहीदको बलिदानलाई सार्थक बनाऔं,” वृहत नागरिक आन्दोलनले भनेको छ ।










प्रतिक्रिया