काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको ललितपुर र चितवनमा रहेका दुवै घर जलाइएका छन् ।
जेनजी आन्दोलनका नाउँमा उनको घर जलाइए पनि शंकाको सुई भने राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ सोझिएको छ ।
रास्वपा सांसद हरि ढकालले गभर्नर पौडेलविरुद्ध संसददेखि सडकसम्म पोखेको आक्रोश र जेनजी आन्दोलनमा रास्वपाको घुसपैठ लगायतका कारणले यो आशंका गरिएको हो ।
गभर्नर पौडेलले सार्वजनिक पद धारण गर्नुअगावै यी घरहरु बनेका हुन् । उनले हालसम्म राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा अर्थमन्त्रीको अवैतनिक आर्थिक सल्लाहकार र नेपाल राष्ट्र बैंकको गभर्नर पद सम्हालेका छन् ।
गभर्नर पौडेलले आफ्नो घर जल्नुअगावै जलेको समाचार प्रकाशित गरिएको समेत खुलासा गरेका छन् ।
“अस्ति यो घर जल्नु दुइ घन्टा अघिनै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो,” उनले बिहीबार लेखेका छन्, “मैले बुझ्दा घरमा केहि भएको थिएन। पछि भने घर भित्र मानिस गए । बा आमाको फोटो, मेरी छोरीको सानो छँदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए ।”
यसरी गभर्नर पौडेलको घर जल्नुमा नियतिभन्दा पनि नियत बढी देखिएको छ र यसमा रास्वपाको हात रहेको सहजै देखिएको छ ।
भैंसेपाटी घर जल्दै गरेको भिडियो राख्दै गभर्नरले लेखेका छन्ः
यो चाहिँ मेरो भैसेपाटिको घर जल्दै गरेको भिडियो हो। मैले योजना आयोगको उपाध्यक्ष हुनु अघिनै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको घर हो। श्रीमती र मेरी ९ वर्षकि छोरीलाइ यो घर धेरै मन पर्ने भएकोले गभर्नर भएपछि पनि यहि बस्थ्यौ। गाडि पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर स्टाफहरुको पहिलो खेपको कमेन्ट आएको थियो।
भित्र यसको बनावट सुन्दर थियो। माथिल्लो तल्लामा किताबैकिताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, बिभिन्न देशमा जादा किनेर ल्याएका कलाकृति थिए। देविदेवताका मुर्ती , भियतनामि सिल्क पेन्टिङ देखि लिएर माओत्सेतुङ सम्मका मुर्ति थिए।जम्मा ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यहि थियो। छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यहि थियो।
अस्ति यो घर जल्नु दुइ घन्टा अघिनै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो। मैले बुझ्दा घरमा केहि भएको थिएन। पछि भने घर भित्र मानिस गए। बा आमाको फोटो, मेरी छोरीको सानो छदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए। छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा मन्त्रेको खेलौना थियो, ऊ राती नतर्सियोस भनेर च्यापेर सुत्न दिन्थ्यौँ। त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए।
राती मेरी छोरी र श्रीमती नजिकको यौटा घर गएर सुते। म परको अर्को ठाउँमा। मेरा साथिहरुलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधै चाडै घर आउछु र कतै डिनर खाने गर्दिन।त्यो दिन हामि सबै “ शरणार्थी“ भयौँ । किताब र कपडाहरु धेरै भएकोले ढिलो सम्म नै घर जलिरह्यो। राति पनि केहि व्यक्तिले आएर बेलाबेलामा ढुँगा हानेर र सामान चोरेर गैराख्थे भनेर छिमेकीहरुले सुनाए।
धेरै साथिहरुले मलाई फोन गरेर सोध्दा मैले ठिकै छ भन्ने जवाफ दिएको छु। हिजो राति म भन्दा पनि पिडामा परेका व्यक्तिहरुको बारेमा पढेँ। त्यसैले सबैलाई सुचना होस भनेर जल्दै गरेको मेरो घरको भिडियो पोस्ट गरेको छु। अब यसबारेमा अरु छलफल के नै गर्नुपर्ला र।
नयाँ सरकार बन्दै छ। कसैलाई मैले दुइ पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ। यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ।

चितवनको घर जलाउँदै गरिएको भिडियोसहित गभर्नरले लेखेका छन्ः
यस भिडियोमा शुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षिय बुढि आमाको सुत्ने कोठा हो। वहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो।
यो मेरो गाउँको घर हो। गभर्नर भएपछि पनि हरेक हफ्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थे। बा ले लगभग १५ वर्ष अघि म बिद्यार्थि छँदानै बनाएको घर हो।
अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो।केहि अघि रक्ताल्पता भैराखेर बाँच्नुहुन्नकि जस्तो भएकोमा अहिले सन्चो हुदैथियो। ६७ वर्ष अघि चितवन झर्नुभएका बा का सबै सन्तान यहि जन्मेका हुन।
जिन्दगिमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सधै कक्षामा फस्ट हुन्थे। गाउँको केहि सुबिधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएँ। बा आमा दुबै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ।
मेरो रिस मेरो भैसेपटिको घर जलाएर नपुगि मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथिहरुको फलोस् फुलोस।











प्रतिक्रिया