Logo

अर्थनीति

संसद् विघटनको मागबाट पछि हट्यो जेनजी: सरकारको नेतृत्व लिइदिन कार्कीलाई औपचारिक पत्र !


gdpnepal
   २६ भाद्र २०८२, बिहिबार


काठमाडौं । जेनजी समूहले अबको संक्रमणकालीन सरकार गठनका लागि जेनजीको प्रतिनिधि बनिदिन आग्रह गर्दै पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई औपचारिक पत्र पठाएको छ ।

कार्कीलाई सबै समूहहरूले स्वतन्त्र तथा सक्षम नेतृत्वमा अन्तरिम सरकार गठन गरी विज्ञहरूको समूहद्वारा संक्रमणकालीन प्रक्रिया अगाडि बढाउन आह्वान पत्रमा गरिएको छ  ।

यस्तै, सक्षम तथा शिक्षित नेतृत्व: मन्त्री, राजनीतिक प्रतिनिधित्वसम्बन्धी पद तथा अन्य नेतृत्व राजनीतिक सिफारिस होइन, योग्यता र क्षमतामा आधारित हुनुपर्छ भन्ने साझा माग राखिएको  छ । 


६ महिना भित्र नयाँ निर्वाचन गर्ने प्रतिबद्धताको माग समेत गरिएको छ ।

जेनजी समूह संसद विघटनको मागबाट भने पछि हटेको छ ।

”संसद विगठनको विषय लगभग हरेक जेन्जी समूहले आफ्ना दस्तावेजमा राखेको भएतापनि, संविधानमा स्पष्ट तथा प्रत्यक्ष रुपले यस संक्रमनकालीन समयमा, विभिन्न सार्वजनिक पद रित्तिएको अवस्थामा संसद विगठन तथा अन्तरिम सरकार लगायतका विषय नसमेटिएका हुनाले, यस विषयमा थप छलफल गर्नु पर्ने देखिएको छ। त्यसकारण उल्लिखित माँगहरुमा संसद विगठनको विषयलाई हाल हामीले समेटेका छैनौँ,” पत्रमा भनिएको छ ।

जेनजीले कार्कीलाई लेखेको पत्र:

मिति: २०८२/०५/२६ 
श्री सम्माननीय पूर्व प्रधानन्यायाधीश सुशीला कार्की ज्यू, 
महोदय, 
विषय: अबको संक्रमणकालीन सरकार गठनका लागि Gen Z को प्रतिनिधि बनिदिनुहुन आग्रह । 
हाल सम्माननीय प्रधानमन्त्रीज्यू लगायत धेरै सांसदज्यूहरूले समेत राजीनामा दिइसकेको अवस्था रहेको छ। देशले नेतृत्वको माग गरिरहेको छ । हामीले दुई दिनमा नै ३४ जना भन्दा बढी मानिस गुमाएका छौं । नेपालको सार्वजनिक सम्पत्ति जलेर ह्रास भइसकेको छ । 
यस आपतकालीन समयमा, यहाँको नेतृत्वमा हामीले संविधान तथा संविधानमा समावेश भएका संघियता, लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानता, समानजस्यता, तथा सिमान्तकृत समुदायहरुको हकाधिकार संरक्षण जस्ता मूल्यमान्यतालाई समर्थन गर्दै, राष्ट्र तथा शासन प्रणालीको सुधार गर्ने हाम्रो माग हो । हाम्रो संविधानको अन्तिम रक्षक हाम्रा राष्ट्रपति हुन् तर राष्ट्रपतिबाट पनि नेतृत्व र निकास दिने तर्फ सक्रियता पूर्वक प्रयास हुन नसकेको परिस्थितिमा यथाशिघ्र कदम चाल्नुपर्ने भएकाले यस संक्रमणकालिन अवधिका लागि हामीले हजुरको नेतृत्व खोजेका हौ । 
जेन्जीले भ्रष्टाचार तथा असक्षम राज्य सत्ताको विरुद्धमा गरेको प्रदर्शनीले क्रान्तिको रुप लिन्छ भन्ने हाम्रो परिकल्पना थिएन। अहिले जेन्जीका केहि मागहरुमा मतभेद भएतापनि, मिति २०८२ साल भाद्र २५ गतेसम्मको हाम्रो अध्ययन अनुसार, विभिन्न Gen-Z समूहहरूले अलग-अलग ज्ञापनपत्र तथा प्रेस विज्ञप्ति सार्वजनिक गरिसकेका छन्, जसमा प्रायः देहाय बमोजिमका मागहरू उठाइएको देखिन्छ: 

१ अन्तरिम सरकार गठन तथा अराजनैतिक शासन


• संक्रमणकालीन सरकार : सबै समूहहरूले स्वतन्त्र तथा सक्षम नेतृत्वमा अन्तरिम सरकार गठन गरी र विज्ञहरूको समूहद्वारा संक्रमणकालीन प्रक्रिया अगाडि बढाउन आह्वान । 
• सक्षम तथा शिक्षित नेतृत्व: मन्त्री, राजनीतिक प्रतिनिधित्वसम्बन्धी पद तथा अन्य नेतृत्व राजनीतिक सिफारिस होइन, योग्यता र क्षमतामा आधारित हुनुपर्छ भन्ने साझा माग । 
• नयाँ निर्वाचन: छोटो अवधिभित्र (६ महिना भित्र) नयाँ निर्वाचन गर्ने प्रतिबद्धता ।

२ भ्रष्टाचार र आन्दोलनको विषयमा जवाफदेहिता र न्याय 

• 

भ्रष्टाचार अनुसन्धानः स्वतन्त्र र निष्पक्ष अनुसन्धान, भ्रष्ट नेताहरूको सम्पत्ति रोक्का गर्ने, चोरी गरिएका सम्पत्ति फिर्ता ल्याउने सर्वव्यापी माग । 

• भ्रष्टाचारमा रोक / दलीय पारदर्शिताः सम्पत्ति खुलासा, खुला वित्तीय व्यवस्था, र भ्रष्ट अभ्यासहरू रोक्नुपर्ने आह्वान | 

• आन्दोलनका सहिद तथा पीडितलाई न्याय: विद्यार्थीहरूको मृत्यु र घाइते प्रदर्शनकारीहरूको बलिदानलाई शहीद दर्जा, क्षतिपूर्ति, र निःशुल्क उपचारमार्फत मान्यता दिनुपर्ने। जेन जि को प्रदर्शनमा घुसपैठ गर्ने र आपराधिक कृयाकलाप गर्नेहरुलाइ कडा कारवाहि गर्न आह्वान | 

स्वतन्त्र अनुसन्धान निकाय: राज्य हिंसा र आन्दोलन दमनको अनुसन्धान गर्न तटस्थ निकाय गठन गर्न आह्वान। 

३ युवाको सहभागिता 

युवाको अर्थपूर्ण प्रतिनिधित्व: संक्रमणकालीन प्रक्रिया र त्यसपछिका हरेक प्रक्रियाको निर्णयात्मक प्रक्रियामा युवाहरूलाई सुनिश्चित तथा अर्थपूर्ण रूपमा समावेश गर्नुपर्ने। 

* संसद विगठनको विषय लगभग हरेक जेन्जी समूहले आफ्ना दस्तावेजमा राखेको भएतापनि, संविधानमा स्पष्ट तथा प्रत्यक्ष रुपले यस संक्रमनकालीन समयमा, विभिन्न सार्वजनिक पद रित्तिएको अवस्थामा संसद विगठन तथा अन्तरिम सरकार लगायतका विषय नसमेटिएका हुनाले, यस विषयमा थप छलफल गर्नु पर्ने देखिएको छ। त्यसकारण उल्लिखित माँगहरुमा संसद विगठनको विषयलाई हाल हामीले समेटेका छैनौ । 

यहाँको नेतृत्व तथा राष्ट्रपतिलाई संविधान प्रदत्त अधिकारको प्रयोगद्वारा यी मागहरु पूरा गर्दै, निर्वाचन नभएसम्म संवैधानिक मूल्यमान्यता तथा लोकतान्त्रिक विधिको शासन सुनिश्चित गरी नव नेपाल निर्माण गर्ने हाम्रो उद्देश्य हो। 

धेरै आशाका साथ, 

जेन जी आनदोलनका सहभागी तथा समर्थक

 

प्रकाशित : २६ भाद्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह