जेनजी आन्दोलनको उपलब्धि: सुशीला कार्की नेपालको पहिलो महिला प्रधान मन्त्री बन्दै
काठमाडौं । सुशीला कार्की नेपालको पहिलो महिला प्रधान मन्त्री बन्ने भएकी छन् ।
जेनजी आन्दोलनले उनको नाममा सहमति जनाएसँगै कार्की आज प्रधानमन्त्री नियुक्त हुनेछिन् ।
उनी नेपालकी पहिलो महिला प्रधान न्यायाधीश बनेर इतिहास रचेकी व्यक्तित्व हुन्। उनले २०७३ वैशाख ११ गते प्रधान न्यायाधीशको पदभार सम्हालेकी थिइन्।
सुशीला कार्कीको जन्म २००९ सालमा भएको हो। सामान्य मध्यमवर्गीय परिवारमा जन्मिए पनि उनले शिक्षा र संघर्षलाई जीवनको मुख्य आधार बनाइन्। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर र कानून (एलएलबी) मा स्नातक अध्ययन गरेकी हुन्।
वकिल पेशाबाट करियर सुरु गरेकी कार्की २०४९ सालमा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भइन्। न्यायिक क्षेत्रमा उनी निर्भीक, ईमानदार र न्यायमा अडिग व्यक्तित्वका रूपमा चिनिन्छिन्। विशेष गरी भ्रष्टाचार विरोधी मुद्दा, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता जस्ता संवेदनशील विषयमा उनी निडर निर्णयका लागि चर्चित छिन्।
२०७३ सालमा प्रधान न्यायाधीश बनेपछि उनले न्यायालयलाई अझ पारदर्शी र उत्तरदायी बनाउन थुप्रै पहल गरिन्। राजनीतिक दबाबका बीचमा पनि उनीले न्यायालयको स्वतन्त्रता कायम राख्न भूमिका खेलेकी थिइन्।
उनको कार्यकाल लामो समयसम्म टिक्न सकेन। २०७४ असारमा अवकाश पाएकी उनले छोटो अवधिमा न्यायपालिकालाई सुधार गर्ने प्रयास गरेकी थिइन्। तर, राजनीतिक असहमति, न्यायाधीशमाथि परेको दबाब र आन्तरिक विवादले उनको कार्यकाल सजिलो बनेन।
सुशीला कार्कीको नाम नेपालको न्यायिक इतिहासमा सधैं विशेष रहनेछ। उनी केवल एक व्यक्ति मात्र होइनन्, न्यायपालिका भित्र महिलाको उपस्थितिको प्रतीक हुन्। छोटो कार्यकाल भए पनि उनको नेतृत्वले न्यायिक स्वच्छता र स्वतन्त्रताको महत्वलाई उजागर गर्यो। अहिले पनि नेपालमा न्यायपालिका राजनीतिक हस्तक्षेप र विश्वसनीयताको संकटमा छ। यस्तो अवस्थामा कार्कीको साहसिक नेतृत्व भविष्यका न्यायाधीश र महिलाका लागि प्रेरणाको स्रोत बनेको छ।










प्रतिक्रिया