काठमाडौं । जेनजी आन्दोलनका नाउँमा भएको विध्वंशले अटोमोबाइल क्षेत्रमा ठूलो क्षति पुगे पनि आफूहरु हार नमान्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण कुमार चौधरीले बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत भावनात्मक संदेश जारी गर्दै अध्यक्ष चौधरीले नेपाललाई नयाँ उचाइमा पु¥याउने अवसर आएको भन्दै देश पुनःनिर्माणप्रति दृढ संकल्प व्यक्त गरेका छन् ।
अध्यक्ष चौधरीले उनले पछिल्ला दिनका घटनाले एउटा सत्य सिकाएको बताएका छन् । यो क्षण नेपाललाई नयाँ उचाइमा पु¥याउने अवसर भएको उनले बताए ।
‘जब आवाजहरू एकताबद्ध हुन्छन्, तब त्यो आवाज परिवर्तनको गर्जन बन्छ र त्यही परिवर्तनले पुस्ता मात्र नभई सन्तानको भविष्य उज्यालो बनाउँछ,’ उनले लेखेका छन् ।
उनले विगतका पीडादायी क्षणलाई पछाडि छोड्दै वर्तमानलाई अवसरका रूपमा लिनुपर्ने बताए । चौधरीले सचेत नागरिक बन्ने, अनुशासनलाई धर्म मान्ने र मातृभूमिको सेवामा सम्पूर्ण शक्ति अर्पण गर्ने वाचा समेत व्यक्त गरेका छन् ।
उनी भन्छन्, ‘हिमाल सार्न जरुरी छैन, तर हरेक दिन, हरेक काममा आफ्नो प्राणको पसिना हालेर १०० प्रतिशत दिने हाम्रो दायित्व हो ।’
यस्तो छ उनको सन्देश:
प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,
गत केही दिनहरूले हामीलाई एउटा सत्य सिकाएका छन्, जब आवाजहरू एकताबद्ध हुन्छन्, तब त्यो आवाज परिवर्तनको गर्जन बन्छ । त्यो परिवर्तन, जसले हाम्रो पुस्ता मात्र होइन, हाम्रो सन्तानको भविष्य उज्यालो बनाउँछ । हो, केही पीडादायी क्षणहरू भए, जसलाई हामी सबैले चाहेनौँ । तर, विगतलाई हामी पछाडि छोडिसक्यौँ । आजको दिन हाम्रो हातमा छ । अहिलेको जिम्मेवारी हाम्रो काँधमा छ ।
यो हाम्रो क्षण हो, नेपाललाई नयाँ उचाइमा पु¥याउने अवसर हो । आउनुहोस्, हामी सबैले वाचा गरौँ, सचेत नागरिक बन्ने, अनुशासनलाई आफ्नो धर्म ठान्ने र मातृभूमिको सेवामा आफ्नो सम्पूर्ण शक्ति अर्पण गर्ने । हिमाल सार्न जरुरी छैन, तर हरेक दिन, हरेक काममा आफ्नो प्राणको पसिना हालेर १०० प्रतिशत दिने हाम्रो दायित्व हो ।
म यो भूमिको माटोसँग शपथ लिन्छु, मेरो हृदयको हरेक धड्कन, मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुनेछ । म पुनः निर्माण गर्नेछु, बलियो बनाउनेछु र नेपाललाई अघि बढाउनेछु ।
यो देशले हामीलाई सबैथोक दिएको छ । अब हाम्रो पालो हो । हामी सबै मिलेर नेपाललाई केवल महान् मात्र होइन, विश्वकै अगाडि झन् उज्यालो र गौरवशाली बनाउनेछौँ । यही मेरो आत्माको गहिरो प्रतिज्ञा हो, यही मेरो अमर वाचा हो ।
जय नेपाल !










प्रतिक्रिया