Logo

Banner-news

जेनजी विध्वंसले खरानी भएको जिल्ला अदालतको भग्नावशेष सफा गर्दै कर्मचारी (फोटो फिचरसहित)


gdpnepal
   २७ भाद्र २०८२, शुक्रबार


लीलनाथ घिमिरे

काठमाडौं-जेनजी आन्दोलनका नाममा प्रदर्शनकारीहरूले आगजनी गरेको काठमाडौं जिल्ला अदालतको भवन अहिले भग्नावशेषमा परिणत भएको छ । आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबाट क्षतिग्रस्त भएको उक्त भवनको सफाइ कार्यमा अदालतका कर्मचारीहरू अहिले खटिएका छन् । फुटेका सिसा, जलेका कागजातहरूको खरानी र अन्य फोहोर हटाउने क्रममा थकित कर्मचारीहरू सडकमा सुस्ताउँदै गरेका भेटिए ।

बबरमहलस्थित यो ७ तल्ले भवन (अण्डरग्राउन्डसहित) नेपालको व्यस्ततम जिल्ला अदालतका रूपमा चिनिन्थ्यो । गत आर्थिक वर्षमा मात्रै यहाँ ५० हजारभन्दा बढी मुद्दा दर्ता भएका थिए, जसमध्ये साढे २६ हजार मुद्दा बाँकी थिए । शुक्रबार दिउँसो अदालत पुग्दा कार्यालय सहयोगीदेखि अधिकृतसम्मका कर्मचारीहरू फुटेका सिसा भवनबाट निकाल्दै थिए ।

आगलागीबाट कागजातहरू, फर्निचर, कम्प्युटरलगायतका सामग्री पूर्ण रूपमा नष्ट भएका छन् । विशेष गरी अण्डरग्राउन्डमा रहेको अभिलेख शाखा सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ फैसला भइसकेका मुद्दाहरूका मिसिलहरू राखिएका थिए । वर्षौंदेखिका अभिलेखहरू सबै खरानीमा परिणत भएका छन् । एउटा पनि सद्दे फाइल भेटिएको छैन । यसबाट फैसला भएका मुद्दाहरूका निर्णयहरू र सम्बन्धित प्रमाणहरू मेटिएका छन्, जसले न्याय प्रक्रियामा दीर्घकालीन असर पार्ने छ।

भूँइतल्लामा रहेका अभियोग तथा फिराद दर्ता शाखा, तहशिल, बैंक काउन्टरह, लेखा र सूचना प्रविधि शाखाहरूको नामनिशान नै मेटिएको छ । एक कर्मचारीका अनुसार, नख्खु कारागारबाट छुटेका कैदीहरू र तिनका आफन्तहरूले अभिलेख र फाँटहरूमा रहेका आफूसँग सम्बन्धित मुद्दाका फाइलहरू छानिछानि जलाएका थिए । विशेष गरी सुन काण्ड, भुटानी शरणार्थी काण्ड र सहकारी काण्डसँग जोडिएका फाइलहरू निशानामा परेका थिए । यसैगरी, लगत शाखामा रहेका फाइलहरू पनि नष्ट गरिएका छन् । मुद्दा फैसला भएपछि प्रतिवादीबाट भराइने बिगो, जरिमाना, कैदलगायतका सजायहरूको लगत त्यहाँ राखिने गरिन्थ्यो ।

प्रकाशित : २७ भाद्र २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह