Logo

कर्पोरेट-बजार

उद्योगी व्यवसायीलाई निराश नहुन महासंघ अध्यक्षको अपिलः ‘फेरि उठ्नुपर्छ, अघि बढ्नुपर्छ’


GDP नेपाल
   २८ भाद्र २०८२, शनिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हालैको जेनजी पुस्ताको आन्दोलनका क्रममा देशभरका उद्योग व्यवसायमा भएको तोडफोड, आगजनी र क्षतिपछि व्यवसायीहरूलाई मनोबल नखसाल्न आग्रह गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफ्नै व्यवसायमा समेत ठूलो क्षति पुगेको अवस्थामा पनि अध्यक्षले देशभरका उद्यमी व्यवसायीहरूलाई पुनः निर्माणमा जुट्न आह्वान गरेका हुन् ।

उनले शून्य पुँजीबाट सुरु गरिएको व्यवसायिक यात्राको संघर्ष र प्रतिबद्धता सम्झँदै अहिले मुलुकका २० हजारभन्दा बढी नेपालीको प्रत्यक्ष रोजगारीसँग आफ्नो व्यवसाय जोडिएको उल्लेख गरे ।

‘हामीले चार दशकअगाडि इमान्दारिता, निरन्तरता र देशमै केही गरौँ भन्ने अठोटका साथ सुरु गरेको सानो व्यवसाय आज फराकिलो राजमार्ग बनेको छ,’ अध्यक्ष ढकालले लेखेका छन,’तर अहिले भने जिम्मेवारीकै सबैभन्दा कठिन मोडमा पुगेको महसुस भइरहेको छ ।’

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा धेरै उद्योग, व्यवसाय तथा निजी सम्पत्तिमा ठूलो क्षति भएको भन्दै उनले लेखेका छन्,‘यो क्षण केवल भौतिक सम्पत्तिको क्षति मात्र होइन, मन, समर्पण र सपनामाथि लागेको चोट पनि हो । तर हामी हतोत्साहित हुन मिल्दैन ।’

उनले व्यवसायीहरूलाई आजैदेखि क्षतिग्रस्त उद्योग व्यवसायको पुनर्निर्माणमा जुट्न, थप लगानी गरी रोजगारी सिर्जनामा लाग्न र प्रत्येक चुनौतीलाई नयाँ अवसरका रूपमा लिन सुझाव दिएका छन् ।

‘८१ प्रतिशत भन्दा बढी योगदान र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्रबिना मुलुकको समृद्धि सम्भव छैन,’ उनले जोड दिएका छन, ‘त्यसैले हामी नआत्तिऔँ, नथाकौं, फेरि उठौं र अघि बढौं ।’

अध्यक्षले नयाँ पुस्तालाई पनि निजी क्षेत्र नै मुलुकको अर्थतन्त्रको इन्जिन हो भन्ने सन्देश दिन आवश्यक रहेको बताएका छन् । ‘

भोलिका पुस्ताले रोजगारी खोज्दै खाडी वा मलेसिया जान नपरोस् भन्ने सपना हामीले पूरा गर्नुपर्छ,’ उनले भनेका छन, “विश्वास गरौँ, भोलि सुनौलो विहानी आउने नै छ । फेरि उठ्नुछ, निर्माण गर्नुछ र भविष्यका पुस्तालाई प्रेरणा दिनुछ ।’

उनले सबै व्यवसायीहरूलाई दुःखलाई साझा ठानी अझ सबल भएर अघि बढ्न आग्रह गर्दै भनेका छन, ‘आउनुहोस्, सबैको प्रयास र निजी क्षेत्रको साहसले सुनौलो नेपालको मार्गचित्र कोर्ने सन्देश दिन सकिने गरी काम गरौँ ।’

प्रकाशित : २८ भाद्र २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह