Logo

Banner-news

भारतमा दुई हप्ता लकडाउन थपिने, नेपालमा लकडाउन थप्ने कि सीमामा कडाई ?


GDP Nepal
   ३० चैत्र २०७६, आइतबार


काठमाडौं । छिमेकी भारतमा लकडाउन अझै दुई साता थपिने भएको छ । आउँदो बुधबार पूर्वनिर्धारित तीन साताको लकडाउन सकिने भारतमा पुनः दुई साता लकडाउन थपिने भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कोरोनाभाइरस संक्रमण भारतका विभिन्न राज्यमा फैलिने क्रममा कमी नआएपछि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) को अवधि थप्ने तयारीमा रहेको भारतीय अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्री मोदीले राज्य सरकारका मन्त्रीहरूसँग भिडियो सम्मेलनमार्फत शनिबार वार्ता गरेपछि ती राज्यका मुख्यमन्त्रीहरूले लकडाउन अवधि थप गर्नुपर्ने राय दिएका बताइएको छ ।

मोदीले लकडाउन बढाउने भएपछि नेपालमा पनि लकडाउन थप्ने तयारीमा ओली सरकार लागेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कुराकानीमा तत्काल लकडाउन नहट्ने बताइसकेका छन् ।

नेपालमा भारतमा जस्तो कोरोना संकट नदेखिएको तथा राजधानी काठमाडौंलगायतका प्रमुख सहरहरुमा पछिल्लो तीन साता लकडाउन गर्दा पनि नयाँ संक्रमित शून्य संख्यामा पाइएकाले यसलाई खुकुलो बनाउनुपर्ने दबाब बढेको छ ।

भारतसँगका सीमावर्ती सहरमा थप कडाइ गर्ने, लामो दूरीका सवारीसाधन चल्न नदिने तथा सावधानीका अन्य उपाय अवलम्बन गरी मुलुकभित्रका आर्थिक तथा सामाजिक गतिविधि खुला गर्नुपर्ने आवाज उठिरहे पनि प्रधानमन्त्री ओली भने जोखिम मोल्न तयार देखिँदैनन् ।

भारतमा पनि लकडाउन थप्ने औपचारिक घोषणा भएको छैन । प्रधानमन्त्री मोदीले आइतवारसम्म नयाँ घोषणा गर्नसक्ने अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री मोदीले लकडाउन गर्नेे ‘सही निर्णय’ लिएका कारण भारतमा अन्य विकसित मुलुकको तुलनामा संक्रमण फैलिने क्रम निकै न्यून रहेको र यसलाई व्यवस्थापनका लागि समय मिलेको एक अधिकारीले बताए ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्रीसँगको कुरापछि ट्वीट गरेका छन्– प्रधानमन्त्रीले बन्दाबन्दी थप गर्ने सम्बन्धमा हामीसँग परामर्श गर्नुभएको छ । आज धेरै विकसित देशहरू भन्दा भारतको अवस्था राम्रो छ किनकि हामीले बन्दाबन्दीको घोषणा समयमै गरेका थियौँ । यदि यो अहिले रोकियो भने अहिलेसम्म हाँसिल गरेका सबै उपलब्धि प्रभावहीन हुनेछन् ।

भारतले तीन हप्ताका लागि गरेको लकडाउनको अवधि आगामी मङ््गलबार सकिनेछ । तर कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु सङ्ख्या बढ्दो क्रममा देखिएपछि भारतका २९ राज्य र क्षेत्रका धेरै मुख्यमन्त्रीहरूले सम्पूर्ण १ अर्ब ३० करोड जनसङ्ख्याका लागि थप केही हप्ता घरभित्र नै रहने निर्देशन ‘लकडाउन’ गर्न सुझाब दिएका थिए ।

प्रकाशित : ३० चैत्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह