Logo

अर्थनीति

कान्छारामकै कम्पनीको ठेक्का तोड्दै कुलमान !


gdpnepal
   १० कार्तिक २०८२, आइतबार


काठमाडौं । शहरी विकास मन्त्रालयले आइतबार स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गत छ वटा रुग्ण रहेको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।

स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन बृज डिभिजनले ‘ठेक्का किन नतोड्ने सम्बन्धी अत्यन्त जरुरी सूचना’ भन्दै प्रक्रिया अघि बढाएको हो ।

कुलमान घिसिङले तीन महत्वपूर्ण विकासे मन्त्रालय सम्हालेयता रुग्ण ठेक्का तोड्ने क्रम अघि बढिरहेको छ । ऊर्जा, जलस्रोत र सिंचाई तथा भौतिक पूर्वाधार मन्त्रालयका रुग्ण ठेक्का तोड्न आक्रामक रुपमा अघि बढाएका घिसिङले सहरी विकासका आयोजनालाई पनि उत्तिकै प्राथमिकता दिएका छन् ।

घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने तत्कालीन ओली सरकारको निर्णयविरुद्ध चर्को आवाज उठाएर राज्यमन्त्री पद नै गुमाउन पुगेका पूर्णबहादुर तामाङ (कान्छाराम)को ठेक्का समेत कुलमानले तोड्ने भएका छन् ।

आफूलाई विगतमा साथ दिए पनि काम नगर्ने ठेकेदारप्रति शून्य सहनशीलताको नीति लिएका कुलमानले कान्छाराम कन्स्ट्रक्सनसहित ६ आयोजनाका ठेकेदारसँगको ठेक्का तोड्न लागेका हुन् ।

कान्छाराम युनिकर्न जेभीले २०७८ असार १० गते सम्झौता गरेको झापास्थित कमल खोला दोभाान पुलको ठेक्का तोड्न १५ दिने सूचना आइतबार प्रकाशित भएको छ ।

यसअघि २०८१ माघ २६ मा कार्य सम्पन्न गर्ने सम्बन्धी १५ दिने सूचना प्रकाशन गरिएकोमा सम्बन्धित निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नदेखाएको प्रयास नगरेको हुँदा ठेक्का किन नतोड्ने भन्दै सूचना जारी गरिएको हो ।

विभागले ठेक्का तोड्नु नपर्ने कुनै आधार, प्रमाण, कारण केही भए सो सहित अबको १५ दिनभित्र निर्माणस्थलमा आवश्यक निर्माण सामग्री, श्रमिक र मेशिन औजारको व्यवस्था गरी काम सुचारु गर्न र निर्माणस्थलको वर्तमान अवस्थाको फोटोहरु सहिते सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र यस डिभिजनलाई जानकारी गराउन सूचित गरेको छ ।

 

प्रकाशित : १० कार्तिक २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह