वीरगञ्ज । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको २६औँ वार्षिक साधारण सभा मिति २०८२ साल पुष १९ गते पर्साको वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न भएको छ। सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न भएको हो।
सभाले आ.व.२०८१/८२ को वार्षिक कार्यप्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ। साथै, आ।व। २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिकसमेत निर्धारण गरिएको छ।
साधारण सभाले हाल कायम चुक्ता पुँजी रु. ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ को २१.०५ प्रतिशतका दरले हुन आउने रु. १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ। जसअन्तर्गत १६.०५ प्रतिशत नगद लाभांश (कर सहित) र ५ प्रतिशत बोनस शेयर वितरण गरिनेछ।
सभाले संस्थापक समूह अन्तर्गत गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाललाई निर्विरोध सञ्चालकमा निर्वाचित गरेको छ। सभापछि बसेको सञ्चालक समितिको ४०७औँ बैठकले गोविन्द लाल संघईलाई पुनः अध्यक्षमा चयन गरेको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष संघईले संरचनात्मक सुधार, संस्थागत सुशासन, प्रविधिको अधिकतम प्रयोग, ग्राहक केन्द्रित योजना तथा जोखिम व्यवस्थापनमार्फत कम्पनीलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कम्पनीलाई डिजिटल रूपान्तरण गर्दै अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डअनुसार अघि बढिरहेको उहाँले जानकारी गराउनुभयो।
कार्यक्रममा सञ्चालक कमलेश कुमार अग्रवालले चुनौतीपूर्ण आर्थिक अवस्थामा पनि कम्पनीले अग्रस्थान कायम गर्न सफल भएको उल्लेख गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई एकजुट भई अघि बढ्न आग्रह गर्नुभयो।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व. २०८१/८२ का चुनौतीलाई अवसरमा बदल्दै कम्पनीले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो। आर्थिक अवस्था सहज नभए पनि लाभांश वितरण गर्न सफल हुनु गौरवको विषय भएको उहाँको भनाइ थियो।
कम्पनीका अनुसार २०८२ असोज मसान्तसम्म कुल लगानी रु. २५४ अर्ब पुगेको छ भने जीवन बीमा कोष रु. २४५ अर्ब र शेयरधनी कोष रु. १३ अर्बभन्दा बढी रहेको छ। हाल देशभर फैलिएका १९७ कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले हालसम्म रु. ३२६ अर्ब बीमाशुल्क आर्जन गर्नुका साथै रु. १०३ अर्ब बराबरको दाबी भुक्तानी गरिसकेको छ।
कम्पनीले आगामी दिनमा पनि ग्राहक हितलाई केन्द्रमा राखी समयसापेक्ष सेवा तथा सुविधाहरू थप गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।










प्रतिक्रिया