Logo

अर्थनीति

सम्पत्ति शुद्धीकरणसम्बन्धी वित्तीय सूचना ३० प्रतिशत बढ्यो: ८४५ शंकास्पद कारोबार प्रहरीमा


gdpnepal
   २९ पुस २०८२, मंगलबार


काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सम्पत्ति शुद्धीकरणसम्बन्धी वित्तीय सूचना संकलनमा ३० प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइका अनुसार अघिल्लो आर्थिक वर्षमा १ हजार ६३८ रहेका सूचक संस्थाहरूको संख्या बढेर ३ हजार ४८७ पुगेको छ । यस अवधिमा इकाइले ८ हजार ५ सय ६५ वटा शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदन प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।

वित्तीय जानकारी इकाइले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन मंगलबार सार्वजनिक गरेको छ । प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतंककारी कार्यमा हुने वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियार निर्माण र विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी नीतिगत, संस्थागत र सञ्चालनगत प्रगतिको समग्र विवरण प्रस्तुत गरेको छ ।

प्रतिवेदनअनुसार इकाइले आर्थिक वर्ष २०८१/८२ मा सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार गरेको छ । साथै शंकास्सपद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गर्नुका साथै वित्तीय सूचना व्यवस्थापन प्रणाली सञ्चालन तथा परिमार्जन गरिएको छ ।

प्राप्त प्रतिवेदनहरूको विश्लेषणसमेत उल्लेख्य रूपमा बढेको छ । विश्लेषणपछि ८४५ वटा शंकास्पद कारोबार तथा गतिविधिमा आधारित वित्तीय जानकारी प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित कानून कार्यान्वयन गर्ने निकायहरूमा पठाइएको छ । यसबाट वित्तीय अपराधको पहिचान, अनुसन्धान र अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्राष्ट्रियस्तरमा पनि सहकार्य विस्तार गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा इकाइले विदेशी वित्तीय जानकारी इकाइहरूसँग ६४ वटा सूचना आदानप्रदान गरेको छ । यसले सीमापार वित्तीय कारोबारबाट उत्पन्न जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका अपराध प्रवृत्तिविरुद्धको सहकार्यलाई थप सुदृढ गरेको छ ।

प्रतिवेदनमा एसिया–प्रशान्त क्षेत्रीय समूहले गरेको पारस्परिक मूल्यांकन नेपाल उच्च निगरानीमा राखिएको क्षेत्राधिकारको सूचीमा परेपछि त्यसबाट बाहिरिन गरिएका समन्वयात्मक प्रयाससमेत समेटिएका छन् ।

वार्षिक प्रतिवेदनले जोखिममा आधारित दृष्टिकोण अवलम्बन, प्रविधिमा आधारित वित्तीय सूचना विश्लेषण, अन्तरनिकाय समन्वय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुधारलाई इकाइको आगामी प्राथमिकताका क्षेत्रका रूपमा पहिचान गरेको छ । आगामी दिनमा वित्तीय सूचनाको विश्लेषणको गुणस्तर सुदृढ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाइने कार्यदिशा तय गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : २९ पुस २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह