Logo

राजनीति

कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’


GDP नेपाल
   ८ माघ २०८२, बुधबार


विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभरका अन्य स्थानको तुलनामा कोशी प्रदेशको राजनीतिक माहोल थप तातिएको छ । २८ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशमा ५०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारको संख्या घटबढ हुन सक्ने भए पनि प्रारम्भिक तथ्यांकअनुसार यति नै उम्मेदवारी दर्ता भएको हो ।

विशेष गरी सहरी र राजनीतिक रूपमा संवेदनशील क्षेत्रहरूमा उम्मेदवारको चाप बढी देखिएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मात्रै ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सुनसरीका चारै निर्वाचन क्षेत्रमा गरी कुल ११० जना उम्मेदवार मैदानमा छन् । सुनसरी क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्कराज राईसहित प्रतिस्पर्धा हुँदैछ । सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीश कुसियतमाझ मुख्य टक्कर हुने देखिएको छ । यसअघि सो क्षेत्रमा कार्की विजयी भएका थिए ।

मोरङ र झापा राजनीतिक केन्द्रमा, झापा बन्यो ‘इपिसेन्टर’

प्रदेश राजधानी विराटनगर समेटिएको मोरङका ६ निर्वाचन क्षेत्रबाट ११८ जनाले उम्मेदवारी दिएका छन् । मोरङमा नेपाली कांग्रेसका प्रभावशाली नेताहरू डा. शेखर कोइराला, महामन्त्री गुरुराज घिमिरे र डा. सुनिल शर्मासहित प्रतिस्पर्धामा छन् ।

उता झापाका ५ निर्वाचन क्षेत्रमा ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये क्षेत्र नम्बर ५ सबैभन्दा बढी चर्चामा छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र साह (बालेन) को उम्मेदवारीले यो क्षेत्र राष्ट्रिय राजनीतिमै बहसको केन्द्र बनेको छ ।

दुवै दलले आफ्ना उम्मेदवारलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेपछि यहाँ एकजनाको हार निश्चित हुने छ । यही कारण झापा–५ लाई यसपटकको निर्वाचनको ‘इपिसेन्टर’का रूपमा हेरिएको छ ।

झापाकै क्षेत्र नम्बर २ मा पूर्वसभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगर मैदानमा छन् भने क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार छन् ।

पहाड र हिमालमा पनि चुनावी चासो

प्रदेश निर्वाचन कार्यालयका अनुसार उदयपुरका दुई निर्वाचन क्षेत्रमा कुल ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा पनि प्रतिस्पर्धा कमजोर देखिएको छैन । उपलब्ध तथ्यांकअनुसार ताप्लेजुङमा १३, पाँचथरमा १५, इलामका दुई निर्वाचन क्षेत्रमा २७, संखुवासभामा १६, तेह्रथुममा १२, भोजपुरमा १२, धनकुटामा १८, सोलुखुम्बुमा १२, खोटाङमा १५ र ओखलढुंगामा १६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभाबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा

यसैबीच झापा निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य भक्ति प्रसाद सिटौलाले आफ्नो पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् । उनले राप्रपाकै तर्फबाट झापा–४ मा उम्मेदवारी दिएका हुन् ।

कोशी प्रदेश सभा सचिवालयका अनुसार सिटौलाले सभामुखसमक्ष राजीनामा पेश गरी सनाखत गराइसकेका छन् । राजीनामा स्वीकृत भएसँगै सो क्षेत्रको प्रदेश सभा सदस्य पद रिक्त भएको छ ।

उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । अब उजुरी, छानबिन र अन्तिम नामावली प्रकाशनपछि औपचारिक चुनावी प्रचारले तीव्रता पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित : ८ माघ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह