काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघ महासभाले ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाउने प्रस्ताव पारित गरेको छ । महासभाबाट पारित यस प्रस्तावअनुसार अब विश्वभर हरेक वर्ष अप्रिल १५ तारिखका दिन उक्त दिवस मनाइनेछ ।
स्वास्थ्यलाई केवल रोग नलाग्ने अवस्थासम्म सीमित नराखी समग्र जीवनकल्याणसँग जोडेर हेर्ने नेपालको अवधारणालाई अन्तरराष्ट्रिय समुदायले औपचारिक रूपमा स्वीकार गरेको यो निर्णयलाई नेपालको महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ ।
होटल संघ नेपालले विश्व आरोग्य दिवसको घोषणाले नेपालमा आरोग्य पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने जनाएको छ ।
नेपालले प्रस्ताव गरे अनुसार संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने प्रस्ताव पारित भएको हुँदा देशमा आरोग्य पर्यटन प्रवर्द्धनले थप गति लिने हानको भनाइ छ ।
“यस निर्णयले विश्व व्यापी रुपमा नेपाललाई आरोग्य पर्यटनको महत्वपूर्ण हिस्साको रुपमा प्रवद्र्धन गर्न सकिने र यसबाट वर्तमान नेपाली पर्यटन परिदृश्यको गुणात्मक सुधार हुने अपेक्षा गर्न सकिन्छ,” संघका अध्यक्ष विनायक शाह भन्छन्, “यसबाट नेपाल आउने पर्यटकको संख्या वृद्धि हुने, पर्यटकको औषत वसाई लम्बिने र पर्यटकको दैनिक खर्चमा समेत वृद्धि भई मुलुकको अर्थतन्त्रमा समेत उल्लेख्य सुधार हुने हाम्रो विश्वास छ ।”
आरोग्य पर्यटनको प्रस्तावक राष्ट्रको हैसियतमा विश्व पर्यटन बजारमा नेपाल प्रमुख स्रोत गन्तव्यको रुपमा स्थापित हुने भएकोले नविन सोच, प्रभावकारी कार्यक्रम र परिणाममुखी व्यवस्थापन जरुरी रहेको संघको भनाइ छ ।
नेपाललाई आरोग्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न हाल भइरहेको गतिविधि अझ व्यापक र प्रभावकारी ढंगमा गर्न सम्वद्ध सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्ष सक्रिय हुने वातावरण बनेको संघले जनाएको छ ।
विगत लामो समयदेखि आरोग्य पर्यटनको क्षेत्रमा कार्य गरिरहेको होटल संघ नेपालले नेपाल सरकारको नेतृत्वमा आरोग्य पर्यटन सम्बन्धी रणनीतिक अवधारणापत्रको मस्यौदा तयारी गर्ने कार्यमा समेत सहकार्यका साथ सुझावहरु प्रस्तुत गरी कार्य गर्दै आएको संघले विज्ञप्तिमार्फत जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा का अनुसार महासभाले पारित गरेको प्रस्तावले स्वास्थ्यको परिभाषालाई अझ व्यापक बनाएको छ। प्रस्तावमा स्वास्थ्य भन्नाले केवल रोग वा दुर्बलताको अभाव मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय सन्तुलन र समग्र कल्याणलाई जनाउने स्पष्ट उल्लेख गरिएको छ ।
यस प्रस्तावले विश्व समुदायलाई स्वास्थ्यप्रति समग्र दृष्टिकोण अपनाउन आह्वान गरेको छ । विशेषगरी रोगको उपचारभन्दा पनि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैलीको विकास, समावेशी स्वास्थ्य प्रणालीको निर्माण तथा दिगो समाजको विकासका लागि स्वास्थ्य क्षेत्रमा दीर्घकालीन नीति र सहकार्य आवश्यक रहेको विषयमा प्रस्तावले जोड दिएको छ ।










प्रतिक्रिया