Logo

मुख्य समाचार

कांग्रेस महामन्त्रीले पेश गरेको प्रतिवेदन पङ्गु बन्योः काभ्रेमा श्रीमान-श्रीमती नै सांसद !


gdpnepal
   ९ माघ २०८२, बिहिबार


काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा तत्कालीन महामन्त्री (हाल उपसभापति) विश्वप्रकााश शर्माले पेश गरेको प्रतिवेदन ‘बदलिएको देश: बदल्नुपर्ने कांग्रेसः सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा’ ले निकै प्रशंशा पायो ।

प्रतिवेदनमा गोदावरी महासमितिले पारित गरिसकेका धेरै विषयहरु पुनः समावेश गरेर पारित गरिएको थियो ।

महाधिवेशन हलमा मात्र नभै मिडिया र राजनीतिक चेत भएका व्यक्तिहरुमाझ पनि सर्वत्र प्रशंशा पाइरहेको यो प्रतिवेदन कार्यान्वयन हुनेमा धेरै आशावादी मात्र नभै विश्वस्त नै देखिए ।

तत्कालीन महामन्त्री शर्मा र उनैको प्रस्तावमा सर्वसम्मत सभापति चयन भएका गगन थापा र सम्पूर्ण रुपमा उनीहरु अनुकुलकै व्यक्तिहरु नेतृत्वमा आइसकेका कारण धेरैले प्रतिवेदन अक्षरसः कार्यान्वयन हुनेछ भन्ने चाहना राख्नु अन्यथा थिएन ।

तर, महाधिवेशनमा तालीको गडगडाहटसहित पारित प्रतिवेदन एक साता नबित्दै पानीको फोकासरह फुटेको पाइएको छ ।

शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा श्रीमान श्रीमती एकैपटक संसद सदस्य नबन्ने स्पष्ट भनिएको छ ।

प्रतिवेदनको १६ औं बुँदामा उनले भूमिकासहित लेखेका छन्ः
जनप्रतिनिधित्वमा नातावाद झल्किएकोः खासगरी एकाघरका सदस्य (मुलतः श्रीमान/श्रीमती एकैपटक एउटै तहको जनप्रतिनिधि बनेको विषय नागरिक पंक्तिमा आलोचित र अलोकप्रिय बनेको थियो ।
(गोदावरी महासमितिले बैठकबाट पारित राजनैतिक दस्तावेजमा उल्लेखित सन्दर्भ स्मरण गर्दै यो विशेष महाधिवेशन त्यसलाई कडाइका साथ अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछ) ।

विशेष महाधिवेशन सम्पन्न भएलगत्तै निर्वाचन आयोगबाट मान्यता पाएको नेपाली कांग्रेसले फागुन २१ मा हुने निर्वाचनका लागि टिकट वितरण गर्दा यसको उल्लंघन गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित मधु आचार्यलाई कांग्रेसले काभ्रेपलाञ्चोक २ बाट उम्मेदवार बनाएको छ । आचार्यलाई टिकट दिँदा कांग्रेसले विशेष महाधिवेशनबाट पारित भएको बुँदा नं. १६ को उल्लंघन गरेको पाइएको छ ।

आचार्यकी पत्नी कमला पन्त अहिले राष्ट्रियसभा सदस्य रहेकी छन् । २०७८ मा भएको राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट निर्वाचित पन्त काभ्रेपलाञ्चोक २ का कांग्रेस उम्मेदवार मधु आचार्यकी पत्नी हुन् ।

आचार्यले यसअघि २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रमा टिकट पाएका थिए । उनी एमाले माओवादी गठबन्धनका उम्मेदवार गोकुल बाँस्कोटासँग पराजीत भएका थिए ।

आचार्यले फागुन २१को निर्वाचनमा जित हासिल गरेको अवस्थामा कांग्रेस विशेष महाधिवेशनले पारित गरेको प्रतिवेदन लागू गर्ने भए पत्नी कमला पन्तले राष्ट्रियसभाबाट राजीनामा गर्नुपर्ने हुन्छ ।

 

प्रकाशित : ९ माघ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह