काठमाडौं । क्लिंकर मौज्दात बढी देखाएर उदयपुर सिमेन्ट उद्योगमा ४६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले उदयपुर सिमेन्टका तत्कालीन महाप्रवन्धक सुरेन्द्र कुमार पौडेल, निमित्त महाप्रवन्धक नवल किशोर साह, नायव महाप्रवन्धक महेश प्रसाद काफ्लेविरुद्ध मुद्दा दायर गरेको हो ।
यसैगरी, उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी र बिक्री विभाग प्रमुख राम बहादुर जी.सीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार प्रवक्ता सुरेश न्यौपानेका अनुसार कूल ४६ करोड ५२ लाख ७४ हजार ४२६ रूपैयाँ २६ पैसा बराबरको सार्वजनिक सम्पत्ति क्लिङ्कर हिनामिना, हानिनोक्सानी तथा मासेको तथ्य स्थापित भएको देखिएको छ ।
आरोपित अधिकारीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसूरजन्य कार्य अन्तर्गत सजाय हुन मागदाबी लिइ आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
.
अख्तियारका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको छानबिन प्रतिवेदनबाट उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा गम्भीर अनियमितता भएको खुलेको छ । यही तथ्य महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनले पनि पुष्टि गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले तत्कालीन महाप्रवन्धक सुरेन्द्र कुमार पौडेल र नायब महाप्रवन्धक महेशप्रसाद काफ्लेसँग १२ करोड ६३ लाख ६९ हजार १६८ रुपैयाँ तथा तत्कालीन निमित्त महाप्रवन्धक नवल किशोर साहसहित उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, क्लिंकर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी र बिक्री विभाग प्रमुख राम बहादुर जीसीसँग भने ४६ करोड ५२ लाख ७४ हजार ४२६ रूपैयाँ बिगो मागवादी गरेको छ ।










प्रतिक्रिया