अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानलाई लगाउँदै आएको भन्सार शुल्क ५०% बाट घटाएर १८% गर्ने निर्णय गरेका छन् ।
भारतले रुसबाट तेल नकिन्ने प्रतिबद्धता जनाएसँगै भारतलाई लगाउँदै आएको उच्च कर राष्ट्रपति ट्रम्पले घटाएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन कुराकानीपछि, ट्रम्पले दावी गरेका छन् कि मोदीले रूसी तेल किन्न बन्द गर्न सहमति जनाएका छन्, र संयुक्त राज्य अमेरिका र सम्भावित रूपमा भेनेजुएलाबाट धेरै तेल किन्नेछन् ।
अमेरिकाले कर घटाएसँगै एसियाको तेस्रो ठूलो अर्थतन्त्र रहेको मुलुक भारतले राहत महशुस गरेको छ । यद्यपि दुई मुलुकबीच भएा सहमती र सम्झौताको ठोस विवरणहरू अझै अस्पष्ट छन् ।
गत वर्ष अगस्तमा ट्रम्पले भारतीय सामानमा आयात शुल्क २५ प्रतिशतबाट ५० प्रतिशतसम्म बढाएका थिए । त्यसबेला उनले दावी गरेका थिए कि दिल्लीले रूसी तेल किनेर रुस युक्रेन युद्धलाई मलजल गरिरहेको छ ।
भारतले ट्रम्पको पछिल्लो भनाइप्रति कुनै टिप्पणी गरेको छैन, तर मोदीले ट्रम्पप्रति ‘यो सुन्दर घोषणाका लागि भारतका १ अर्ब ४० करोड मानिसको तर्फबाट धन्यवाद’ भनेका छन् । उनले यसले अमेरिका–भारत साझेदारीलाई अब्बल उचाइमा पु¥याउने आशा व्यक्त गरेका छन् ।
अमेरिका र भारतबीच केही वर्षयता सुमधुर सम्बन्ध छैन । अमेरिकाले गरेको कर वृद्धिसँगै भारतबाट अमेरिकी निर्यातमा कडाइ ल्याइएको थियो । विशेष गरी कपडा, समुद्री खाना र गहना जस्ता क्षेत्रमा रोजगार सृजना गर्ने महत्वपूर्ण क्षेत्रहरूमा निर्यातमा गिरावट आएको थियो ।
ट्रम्पका करले पनि दिल्लीमा संरक्षणवादी नीतिले अन्य व्यापार सम्झौताहरूमा तिब्रता ल्याउन र निर्यात बजारहरू विविध बनाउन प्रेरित गरेको थियो ।
गत हप्ता भारत र यूरोपेली संघले “सबैभन्दा ठूलो व्यापार सम्झौता” घोषणा गरे, जसले ८० देखि ९० प्रतिशतसम्म सामानमा ट्यारिफ हटायो । सँगै अमेरिकासँगको सम्झौताले भारतीय अर्थतन्त्रलाई टेवा पुग्नेछ ।
ट्रम्पद्वारा गरिएको घोषणालाई भारतीय उद्योगले अपेक्षाअनुसार व्यापक स्वागत गरेको छ ।
धेरै कुरा खुल्न बाँकी भए पनि यसले भारतीय रुपैयाँ बलियो बन्नेदेखि निर्यात व्यापारसम्मलाई सकारात्मक प्रभाव पार्नेछ ।
भारतीय मुद्रा बलियो हुँदा अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो बन्नेछ । यसले रेमिट्यान्स र निर्यातमा केही प्रभाव पारे पनि आयातित बस्तुहरु सस्तो हुनेछ ।










प्रतिक्रिया