काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीस्तरीय निर्णय गर्दै डंगोललाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएकी हुन् ।
प्रधानमन्त्री कार्की आफैंले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालिरहेकी छन् ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी छन् ।
उनी २०५१ जेठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरे पनि २०५२ जेठ ९ मा स्थायी नियुक्ति पाएकी थिइन् ।
२०८० जेठ ३२ देखि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशक नियुक्त भएकी डंगोलले प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं एवम् वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत पूरा गरिसकेकी छन् ।
डंगोल हाल प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत थिइन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै ग्राहकको चाहना र सरकारको प्राथमिकता बमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने प्रतिवद्धता जनाइन् ।
कम्पनीलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने उनको भनाइ छ ।
डंगोलले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्दै आत्मविश्वास, प्रतिबद्धता र साझा उद्देश्यका साथ अघि बढ्न कर्मचारीहरुलाई आह्वान गरेकी छन् ।










प्रतिक्रिया