Logo

बिजनेस होम

बालेनको पछि लाग्दा पनि पाँडेको फिल्म चलेनः बल्छीलाई भने चुपचाप सफलता !


gdpnepal
   २९ माघ २०८२, बुधबार


काठमाडौं । सानो पर्दामा जमेका कलाकार अर्जुन घिमिरे (पाँडे)को परिचय अहिले फेरिएको छ ।

कलाकारिता बिट मारेर यतिबेला उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीका रुपमा अघि सारेका बालेन्द्र शाहको अघिपछि हिँड्ने गरेका छन् ।

अन्य दलका नेताको पछि हिँड्ने यस्ता कार्यकर्तालाई झोले वा चम्चागिरी गर्ने भनिन्छ तर रास्वपा र बालेनका पछि लाग्नेले भने आफूलाई शुभेच्छुक मात्र दावी गर्छन् ।

घिमिरे बालेनको पछि लागेको भने २०७९ को स्थानीय चुनावबाटै हो । जसलाई उनले खुलेआम स्वीकारेका छन् ।

यद्यपि, त्यसपछिका दिनमा पनि उनले कलाकारिता जारी राखे । सानो पर्दामा उनको एकछत्र राज रह्यो र यसैको बलमा उनले विभिन्न स्टेज प्रोग्रामहरुमा पनि आफ्नो कलाकारिता प्रदर्शन गरिरहे ।

सानो पर्दाको कलाकारितामा सफल रहे पनि उनलाई ठूलो पर्दा भने फापेन । यसअघि सक्किगोनी टिमले खेलेको फिल्म ‘लाज शरणम्’देखि अहिले पाँडेले निर्देशनमा डेब्यू गरेको ‘झरीपछिको इन्द्रेणी’सम्मको अवस्था हेर्दा उनी ठूलो पर्दामा फिट देखिएनन् ।

ठूलो पर्दामा उनी कलाकार र निर्देशक दुवै रुपमा असफल सावित भएका छन् । यद्यपि, उनले फिल्म चलाउन हथकण्डामा भने कुनै कमी हुन दिएनन् ।

राजनीतिक र सामाजिक रुपमा पनि सबैभन्दा बढी क्रेज भएका काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहलाई गीत (र्‍याप) गाउन लगाएर ‘लाज शरणम्’ चलाउन खोजे पनि बल्लतल्ल लगानी उठाउने स्थितिसम्म मात्र पुग्यो ।

पाँडे आफैंले निर्देशन गरेको ‘झरीपछिको इन्द्रेणी’ चलाउन शुभमुहुर्तमा बालेन पत्नी सविनालाई बोलाउनेदेखि प्रचारमा सिंगो रास्वपा टीमलाई उतार्दा समेत फिल्मले अपेक्षित सफलता पाउन सकेन ।

रास्वपा र बालेनबीचको एकताको मौका छोपेर पार्टीका नेतालाई फिल्म हेर्न हलसम्म पु¥याइ उनीहरुमार्फत प्रचार गर्ने पाँडेको निन्जा टेक्निक फ्लप भएको बक्स अफिस रिपोर्टले देखाएको छ ।

चलचित्र विकास बोर्डको रिपोर्टअनुसार पाँडको फिल्म ‘झरीपछिको इन्द्रेणी’ हालसम्म ४० हजार ८९९ जनाले हेर्दा बक्सअफिसमा १ करोड २९ लाख ५५ हजार रुपैयाँ मात्र कलेक्सन भएको छ ।

सानो पर्दामा पाँडेको एकछत्र राज भइरहँदा आफ्नो अस्तित्व रक्षाका लागि संघर्षरत बल्छी धुर्बे (मरिचमान श्रेष्ठ)ले भने ठूलो पर्दामा पाँडेलाई जितेका छन् ।

कुनै ठूलो प्रचारप्रसार नगरी र फिल्म हेर्न राजनीतिक दलबलको प्रयोग नगरी बल्छीले आफ्नो फिल्म ‘गोबर गणेश’लाई सफलताको स्वाद चखाएका छन् ।

बल्छीले पनि यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । उनको फिल्मले हालसम्म ४९ हजार ५३१ टिकट बिक्रीबाट १ करोड ४० लाख २७ हजार रुपैयाँ आम्दानी गरिसकेको छ ।

 

प्रकाशित : २९ माघ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह