काठमाडौं । मुलुकमा निर्वाचनको माहौल बढिरहेका बेला ‘राष्ट्रवादी’हरुको भने फरक स्वर सुनिन थादेको छ । राष्ट्रवादीहरुको दुई समूहले फागुन २१ मा हुन लागेको आम निर्वाचनलाएई अवैध भन्दै तेस्रो संविधानसभा निर्वाचनको माग गरेको छ ।
नेपाल राष्ट्रिय राजनीतिक गुरुकुल र स्वदेशवादी अभियानका नाउँमा यस्तो प्रस्ताव अघि सारिएको हो ।
नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका संयोजक सौरभ र स्वदेशवादी अभियानका संयोजक सूर्य माखिमले यो सरकार सत्ता अपहरणकारीको भएको र यसले चुनाव गराउने अधिकार राख्दैन भन्दै विज्ञप्ति जारी गरेका छन् ।
सौरभ पूर्व पत्रकार र राजनीतिक विश्लेषक समेत हुन्, जसले रास्वपाद्वारा प्रस्तावित प्रधानमन्त्री बालेनलाई लुसिफरको संज्ञा दिएका थिए ।
बिहीबार सम्पादकहरुसँगको कुराकानीमा उनीहरुले सात बुँदे अवधारणा सार्वजनिक गरेका छन् । जसमा सर्वपक्षीय स्वदेशवादी नागरिक सरकार गठन गरी न्यायपूर्ण निष्पक्ष चुनाव गराउनुपर्ने लगायका विषय उठाइएका छन् ।
यी हुन् नेपाल राष्ट्रिय राजनीतिक गुरुकुल र स्वदेशवादी अभियानका धारणा
१. विदेशीको एजेण्डामा निर्माण गरिने आगामी सरकार नेपाली जनताको हितमा नभएको ठहर गर्दै हामी आगामी सरकारलाई स्वीकार गर्दैनौं ।
२. गत भदौ २४ गतेको हत्या-हिंसा र आगजनीमा संलग्न योजनाकारहरुलाई कानुनी दायरामा नल्याई गरिने चुनाव धोखा भएको हाम्रो ठहर हो ।
३. २०७२ को संविधान मरिसक्यो, तेस्रो संविधानभाको निम्ति हुने चुनाव आजको आवश्यकता हो ।
४. पूर्व प्रधानन्यायधिशलाई वर्तमान संविधानले चिन्दैन, उसको नेतृत्वमा भएको निर्वाचन नै अवैध हो ।
५. चुनावको नतिजाले नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदानको रुपमा परिणत भए हामी परिस्थिति सम्हाल्न सक्ने अवस्थामा रहने छैनौं ।
६. यो सरकार सत्ता अपहरणकारीको हो, यसले चुनाव गराउने अधिकार राख्दैन । ७. सर्वपक्षीय स्वदेशवादी नागरिक सरकार गठन गरी न्यायपूर्ण निष्पक्ष चुनाव गराओस् ।










प्रतिक्रिया