Logo

अर्थनीति

कांग्रेसको अर्थनीतिः वैध नाफालाई प्रोत्साहन, अवैध सम्पत्तिलाई निर्ममतापूर्वक नियन्त्रण


gdpnepal
   ६ फाल्गुन २०८२, बुधबार


काठमाडौं । नेपाली कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गर्दै ‘सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल’ बनाउने घोषणा गरेको छ ।

बुधबार जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा राज्यले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहित गर्ने तर अवैध तरिकाले सम्पत्ति थुपार्ने र उपभोग गर्ने प्रवृत्तिलाई निर्ममतापूर्वक नियन्त्रण गर्ने उल्लेख छ ।

“आर्थिक स्वच्छता र सदाचारलाई संस्कृतिकै रूपमा अघि बढाउने काम राजनीतिक नेतृत्वले गर्नेछ,” प्रतिज्ञापत्रमा भनिएको छ, “आँट गरेर लगानी गर्ने, रोजगारी र सम्पत्ति सृजना गर्ने एवं उत्पादनमा जोडिने सबैलाई काँध थाप्ने राज्य हुनेछ ।”

सानादेखि ठूलासम्मका व्यवसाय गर्ने नागरिकलाई राज्यले हरतरहले प्रोत्साहन र साथ दिने तथा आर्थिक रूपमा पछाडि परेका नागरिकलाई पनि सम्पत्ति र आय आर्जन गर्न सक्ने गरी सक्षम बनाउने कांग्रेसको अर्थनीतिमा उल्लेख छ ।

यस्तै, श्रमिकको पसिना पवित्र छ, उसको मेहनतको उचित मूल्य, सामाजिक सुरक्षा र सम्मान राज्यको कर्तव्य हुने जनाइएको छ ।

दिगो आर्थिक विकास, नीतिगत स्थिरता र हैरानीमुक्त सेवा प्रवाहसँगै अग्रज पुस्ताको अनुभव, युवाको नवीन सोच र नागरिकको साझा प्रयत्नले ती सपनाहरू साकार हुने उल्लेख छ ।

“उज्यालो भविष्य खोज्ने युवालाई स्वदेशमै परिवारसंगै रमाउँदै मर्यादित र आकर्षक अवसरहरू हुनेछन्, जहाँ उनीहरूको सृजनशीलताको उच्च कदर र प्रोत्साहन हुनेछ,” प्रतिज्ञापत्रमा भनिएको छ ।

प्रवासमाराज्य रहेर पौरख र सामथ्र्य खर्चिरहेका नेपालीहरूको पनि अभिभावक हुने तथा संसारभरि छरिएका नेपालीको भावना, ज्ञान, सिप र पुँजी मातृभूमिको पुनर्जागरणमा जोडिने उल्लेख छ ।

“हाम्रो देश विदेशिएका नेपालीलाई ‘फर्कन रहर लाग्ने’ र स्वदेशमा रहेकालाई ‘यहीँ सुनौलो भविष्य देखिने’ जीवन्त देश हुनेछ,” प्रतिज्ञात्रमा भनिएको छ ।

किसानहरू सम्पन्न र मुलुकको प्रगतिका मुख्य सारथी हुने तथा कृषि पेसा कुनै नागरिकको बाध्यता नभई आधुनिक र मर्यादित छनोट हुने उल्लेख छ ।

“नेपाली किसानले मुलुकलाई चाहिने स्वास्थ्यकर खाद्यान्न आपूर्ति मात्र गर्ने छैनन्, प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चिचता समेत पाउनेछन्,” प्रतिज्ञापत्रमा भनिएको छ ।

युवाहरूले कृषिमा आफ्नो भविष्य र भरोसा भेट्ने तथा राज्यले सिँचाइ र मलको अभाव अन्त्य गर्दै, बीमा र भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्ने उल्लेख छ ।

नेपालको उत्पादनलाई विश्व बजारमा ‘ब्राण्ड’ बनाउने भिजन बोकेका कृषि उद्यमीहरूलाई राज्यले हरेक पाइलामा साथ दिने जनाइएको छ ।

 

प्रकाशित : ६ फाल्गुन २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह