काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले गत भदौमा घटेको जेन्जी आन्दोलन पश्चात असाधारण परिस्थितिमा गठन भएको अन्तरिम सरकारको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको भन्दै आम निर्वाचनप्रति सन्तोष व्यक्त गरेको छ ।
“पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले राजनैतिक अस्थिरता, असहमति र सुरक्षा चुनौतीका बीच पनि आफ्नो मुख्य जिम्मेवारी निर्वाह गरी मुलुकभरका १६५ वटै क्षेत्रमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराएकोमा प्रशंसा सहित हामी सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण मन्त्रिपरिषद्प्रति हार्दिक आभार व्यक्त गर्दछौं,” एनबीआईले भनेको छ ।
एनबीआईले यो ऐतिहासिक उपलब्धिमा निर्वाचन आयोगको कुशल नेतृत्व, सम्पूर्ण निजामती कर्मचारीको समर्पण र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेना गरी चारवटै सुरक्षा निकायको समन्वय र सहकार्य उल्लेखनीय रहेको जनाएको छ ।
राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले यस ऐतिहासिक निर्वाचनमा स्वतन्त्र पर्यवेक्षकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
“हामीले मुलुकभरका विभिन्न निर्वाचन क्षेत्रमा ११० भन्दा बढी पर्यवेक्षक परिचालन गरी मतदान प्रक्रिया, मतगणना र समग्र निर्वाचन व्यवस्थापनको अनुगमन गर्यौँ। हाम्रा पर्यवेक्षकहरूले निर्वाचनको पारदर्शिता, सुरक्षा व्यवस्था र निष्पक्षतालाई प्रत्यक्ष रूपमा अवलोकन गरेका छौं,” एनबीआईले भनेको छ, “हाम्रो अवलोकनले छिटपुट घटना बाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको पुष्टि गर्दछ ।”
दीगो शान्ति स्थापना, आर्थिक स्थायित्व र समृद्धिको लागि कार्यरत राष्ट्रिय व्यवसायिक पहलले नव निर्वाचित सरकारबाट भ्रष्टाचार न्युनिकरण, पारदर्शीता र सुशासनद्वारा मुलुकलाई स्थायित्व र समृद्धितर्फ डोयाउनेछ भन्ने दृढ अपेक्षा एनबीआईले राखेको छ ।
मुलुकको दिगो विकास र समृद्धिका लागि समाज र व्यवसाय एकअर्कामा निर्भर छन् भन्दै एनबीआईले सफल समाजबिना व्यवसाय सफल बन्न नसक्ने जनाएको छ ।
सफल व्यवसायबिना समाज सफल बन्न सक्दैन भन्ने नारासहित क्रियाशील एनबीआईले अब बन्ने सरकारसँग भ्रष्टाचार नियन्त्रण, कानुनको शासन, पारदर्शिता, सुशासन र आर्थिक विकासका मुद्दामा रचनात्मक संवाद र सक्रिय सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।










प्रतिक्रिया