काठमाडौं । नेपाल सरकारबाट स्वीकृत कोभिड १९ संक्रमण रोकथाम गर्ने विश्व स्वास्थ्य संगठनको सिफारिस अनुरुपको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी विदेशबाट उद्दार गरी हवाई उडानबाट स्वदेश फर्काइने नागरिकहरुलाई होटल संघ नेपालका क्वारेन्टिनका लागि स्वीकृत सदस्य होटलहरुले सेवा उपलब्ध गराउने भएका छन् ।
स्वीकृत सरकारी प्रक्रिया अनुसार पाहुनाहरु न्यूनतम ७ रात होटलमा अनिवार्य वस्नुपर्ने र पीसीआर परीक्षणबाट संक्रमण नभएको प्रमाणित भएपछिमात्र चेकआउट गर्न पाउने लगायत पाहुनाहरुले अनिवार्य रुपमा सरकारको स्वास्थ्य मापदण्ड पालना गरी बिहान बेलुकाको सबै खानापिना होटलबाटै उपलब्ध गर्नुपर्ने जस्ता व्यवस्था गरिएको छ ।
सरकारको स्वास्थ्य मापदण्ड अनुरुपका उपकरण र सामग्रीहरु सदस्य होटलहरुले व्यवस्थापन गरी कामदार कर्मचारीलाई कोभिड १९ संक्रमण रोकथाम सम्बन्धमा नेपाल पर्यटन बोर्डको सहकार्यमा अभिमुखीकिरण तालिम समेत गराई सकिएको होटल संघ नेपालले जनाएको छ । क्वारेन्टिनका लागि सेवा उपलब्ध गराउने होटल संघ नेपालका सदस्य होटलहरु पर्यटकस्तरीय देखि पाँच तारेसम्म रहेका छन् ।
मूल्य अभिवृद्धिकर र सेवा शुल्क समावेश गरी पर्यटक स्तरीय सदस्य होटलहरुले दिने सेवा र पाहुनाले तिर्ने न्यूनतम रकमसमेत स्वीकृत भएको जानकारी दिइएको छ । राष्ट्रिय संकटको वर्तमान अवस्थामा सरकारको आह्वानमा सदस्य होटलहरुले उपलब्ध गराउने सेवाहरु नाफा भन्दा पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यबाट अभिप्रेरित भएको हुँदा प्रतिव्यक्ति न्यूनतम १८ सय र त्यस माथिको होटलको स्तरअनुसारको शुल्क स्वीकृत भएको पनि होटल संघ नेपालले जनाएको छ ।
होटल संघ नेपालका सदस्य होटलहरु नेपाल सरकार पर्यटन विभागअन्तर्गत रही सम्बन्धित कर कार्यालयमा दर्ता भई नेपाल सरकारको होटल मापदण्ड अनुसार सञ्चालनमा रही आएको पनि होटल संघ नेपालले जनाएको छ ।
प्रतिक्रिया