काठमाडौं । अब होम डेलिभरी गर्नेको पीसीआर परीक्षण भएको हुनुपर्ने प्रावधान राखिएको छ । होम डेलिभरीको मापदण्ड तयार पार्ने सम्बन्धमा काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिको प्रतिवेदनअनुसार यस्तो व्यवस्था लागू भएको हो ।
समितिले ‘निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा होम डेलिभरी गर्ने सम्बन्धी मापदण्ड–२०७७’ जारी गरेको छ । जसमा सर्तसहित सेवा प्रवाह गर्न दिने बताइएको छ ।
होम डेलिभरीका लागि अन्य शर्तमा अनलाइन कम्पनी सेवा प्रवाह गर्दा सम्बन्धित निकायमा दर्ता भएको हुनु पर्ने, साइटमा वस्तु तथा सेवाको मूल्य अनिवार्य राख्नुपर्ने छ ।
यस्तै, सेवाप्रवाह गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्ने, ग्राहकको विवरण, विलबिजक, परिचय पत्र अनिवार्य गरिएको छ ।
सबै सेवा प्रदायकले एकैपटक सेवा प्रवाह गर्न पनि पाउने छैनन् । स्थानीय प्रशासनले डेलिभरी ब्याग तथा सवारी साधनहरुको आवश्यक संख्या तय गर्ने छ । चार पाङग्रे सवारी साधनले चालकसहित बढीमा २ जना र दुई पाङग्रे सवारीले १ जनामार्फत सेवा प्रवाह गर्नु पर्ने छ ।
होम डेलिभरीको लागि औषधि, औषधिजन्य सामग्री, बच्चासँग सम्बन्धित उत्पादन, मातृस्वास्थ्य स्याहारजन्य उत्पादन, छालाका सुरक्षाका उत्पादन, कपाल, व्यक्तिगत सरसफाई, घरपालुवा जनावरका समान, स्वास्थ्य सुरक्षाका सामान, कृषि बीउ विजन, खाद्यान्न, तरकारी, फलफूल लगायतका सामानको मात्र डेलिभरी गर्न पाइने छ ।
अर्को मापदण्डअनुसार संक्रमित क्षेत्रमा होम डेलिभरी बन्द गरिएको छ । स्थानीय प्रशासनले आफैं वा कुनै निकायमार्फत होम डेलिभरी गर्ने कम्पनी वा व्यक्तिका स्टोर भान्सार डेलिभरी संयन्त्रको आवश्यकताअनुसार नियमित अनुगमन गर्ने जनाइएको छ ।
हाल काठमाडौंमा मात्र सयभन्दा बढी कम्पनी होम डेलिभरीमा कार्यरत छन् ।
प्रतिक्रिया