Logo

राजनीति

प्रदेश ५ः ‘समृद्ध प्रदेश, खुशी जनता’ को लक्ष्य


appharu
   २७ चैत्र २०७४, मंगलबार


बुटवल, २७ चैत । प्रदेश नं ५ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

प्रदेशसभाको सोमबार  बसेको बैठकले त्यसलाई सर्वसम्मतिले पारित गरेको हो । प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभामा प्रस्तुत गरेका थिए । मुख्यमन्त्री शंकर पोखरेलले आइतबार नै बसेको दोस्रो सत्रको प्रदेशसभा बैठकमा टेबुल गरेको नीति तथा कार्यक्रम आज बसेको बैठकमा चार घण्टा छलफलपछि पारित भएको हो । बैठकमा ३२ प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका थिए।

प्रदेशसभाका सदस्यले उठाएको प्रश्न र जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले पाँच वर्षमा प्रदेशसभा सदस्यले निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धता देखिने तरिकाले काम गरिने आश्वासन दिए । उनले मुलुक निर्माणको अहिलेको परिस्थितिमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नहुन पनि दलहरुलाई आग्रह गरे ।

बैठकमा अधिकांश सदस्यले प्रदेशमा पर्ने सबैभन्दा जोखिमयुक्त सिद्धार्थ राजमार्गको रुपन्देही एवं पाल्पाको सिमानामा पर्ने सिद्धबाबा क्षेत्रमा पहिराका कारणले वर्षेनी हुने धनजनको क्षति न्यूनीकरणका लागि उपयुक्त विकल्प खोज्न नीति तथा कार्यक्रममा स्पष्ट धारणा आउनुपर्ने सुझाव राखेपछि मुख्यमन्त्री पोखरेलले विकल्प पहिचान गरी समस्या समाधानमा सरकार दृढ रहेको स्पष्ट पारे ।

नीति तथा कार्यक्रममा प्रदेश ५ लाई आर्थिक र सामाजिक रुपले समृद्ध प्रदेश बनाउने लक्ष्यका साथ ‘समृद्ध प्रदेश, खुशी जनता’ को लक्ष्य राखिएको छ । त्यस्तै कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकासको रणनीति अवलम्बन गरिने छ । सरकारले प्रादेशिक विकासको अवधारणा तयार गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्ने विषयलाई उच्च प्राथमिकता राखेको छ ।

सरकारी, निजी र सहकारीका माध्यमबाट प्रदेशको आर्थिक विकास गरिने तथा प्रदेशको विकासमा स्वदेशी र विदेशी पूँजी लगानीलाई आकर्षित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । बैठकमा प्रदेशसभा सदस्य कमलराज श्रेष्ठ, विष्णुप्रसाद पन्थी, अमरबहादुर डाँगी, विमला पन्थी, युवराज खनाल, उत्तरकुमार वली, तुल्सीप्रसाद चौधरी, थानकुमार थापा, जाल्पा भुसाल, रामजीप्रसाद घिमिरे, कुलप्रसाद पोख्रेल, पुरनमान बज्राचार्य, सरस्वती गौतम, भगवती भण्डारी, कृष्णध्वज खड्का, पार्वती पुन, इन्द्रप्रसाद खरेल, दिनेश पन्थी, इन्द्रजीत थारु, दामा शर्मा, तिलकराम शर्मा, तेजबहादुर वली, दीपेश थारु, अर्जुनकुमार श्रेष्ठ, वैजनाथ कलावार, निर्मला क्षेत्री, रमा अर्याल, भुवनेश्वर चौधरी, फखरुद्दीन खान, सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र तारा जिसीले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका थिए ।

बैठकले पूर्वमन्त्री खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार अपराह्न १ बजे बस्नेछ । रासस

प्रकाशित : २७ चैत्र २०७४, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह