Logo

अर्थनीति

चिनियाँ रेलका लागि चर्को ब्याजमा ऋण नलिन कांग्रेसको चेतावनी


appharu
   १० असार २०७५, आइतबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केरुङ–काठमाडौं रेलका लागि मुलुकले धान्नै नसक्नेगरी चर्को ब्याजमा ऋण नलिन सरकारलाई चेतावनी दिएको छ ।

कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले भारत र चीन दुवै मुलुकबाट रेल ल्याउँदा अनुदानमै ल्याउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको छन् । उनले नेपालले रेलवे निर्माणजस्ता ठूला परियोजना निर्माण गर्दा प्रतिफलको बारेमा गम्भीर अध्ययन गरेरमात्रै अघि बढ्नुपर्ने बताए ।

महतले आइतबार रिपोर्टर्स क्लबमा रेल कहिले आउने हो भन्नेमा सरकारका मन्त्रीहरुको भनाई नै विरोधाषापूर्ण रहेको आरोप लगाए । उनले भने, “वर्तमानका सरकारका मन्त्रीले कहिले २ वर्षमा नै चीनबाट रेल आउँछ भन्नुहुन्छ, कहिले ५ वर्ष भन्नुहुन्थ्यो, अहिले फेरि ७ वर्षको चर्चा छ, रेल आउने कुरा रोमाञ्चक कुरा हो, आए त राम्रो हुन्छ ।”

नेता महतले रेल ल्याउने कुरामा आर्थिक पक्षमा विशेष ध्यान दिनुपर्ने सुझाए । उनले भने, “लगानी कसको हुने हो ? कति लगानी लाग्छ ? कोदारी राजमार्गजस्तै चीनले बनाईदियो भने त राम्रो हुन्छ, हामीले आर्थिक पक्षमा विशेष ध्यान दिनुपर्छ ।”
चिनियाँ रेल काठमाडौंसम्म ल्याउनको लागि कम्तिमा पनि ५ देखि ६ अर्ब अमेरिकी डलरको लागत पर्न आउने र यो रकम अहिले हामीले लिएको कुल ऋणको पनि दोब्बर हुन आउने उनको भनाइ छ ।

नेपालले अहिले ऋणको रुपमा ठूला परियोजनाहरु लिन नसक्नेपनि महतले बताए । उनले भने, “मुलुकनै धान्न नसक्नेगरि हामीले ऋण लिनु हुँदैन्, परियोजनाबाट आउने प्रतिफल हेरेरमात्रै ऋण लिनुपर्छ, प्रतिफल नै नहेरी हतारिए ऋण लिनुहुँदैन, यसको लागि पर्याप्त छलफल गर्नुपर्छ ।” तर कांग्रेस पार्टीले चिनियाँ रेल अनुदानमा आउँदा स्वागत गर्ने स्पष्ट पारे ।

सोही कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य केशब प्रसाद बडालले चिनियाँ रेल सके अनुदानमा नभए पनि दुवै देशको संयुक्त लगानीमा बनाउँदा राम्रो हुने धारणा राखे ।

बडालले भने, “सम्भव हुँदा मित्रराष्ट्र भारत र चीनबाट नेपालमा अनुदानमा रेल ल्याउँदा राम्रो हुन्छ, यदि त्यो सम्भव नभए दुवै देशको संयुक्त लगानीमा पनि बनाउन सकिन्छ ।” उनले रेलवे, सडक र ट्रान्समिशनमार्फत दुवै देशलाई जोड्न आवश्यक रहेको सुनाए ।

प्रकाशित : १० असार २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह