अर्थमन्त्री सुरेन्द्र पाण्डेले मलाई बोलाएर राजीनामा पनि नमाग्ने वा तपाईंको बारेमा यस्तो कुरा गर्न आएका थिए वस्तुस्थिति के हो भनेर पनि नसोध्ने । म पनि वहाँलाई भेटेर परिचय गर्ने र वस्तुस्थिति यो यो छ है भनेर अवगत पनि नगराउने अनौठो परिस्थिति खडा भएको थियो ।
खै किन हो कुन्नी वहाँले मसँग राजीनामा माग्नु भएन । मेरो चाहिँ नेताकहाँ धाउने र नेतासँग परिचय गरेर सम्बन्ध बढाउनुमा पटक्कै रुचि थिएन, अहिले पनि छैन । वहाँसंग भेटघाट थिएन । परिचय थिएन ।
काम विशेषले अर्थ मन्त्रालयमा जाँदा पनि आर्थिक सल्लाहकार मेरा चिनेजानेका मित्र केशव आचार्य र सम्बन्धित् महाशाखामा मात्रै सीमित हुन्थ्यो ।
बाबुरामजी अर्थ मन्त्रालयमा हुँदा पनि यसरी नै चलेको थियो । त्यसबखत अर्थ मन्त्रालयमा आर्थिक सल्लाहकार प्रा श्रीराम पौडेल हुनुहुन्थ्यो ।
बाबुरामजीसँग २०४६ तिर रत्नपार्कको सडकमा भेटघाटपछि एक्कै पटक मन्त्रीको कार्यकक्षमा भेट भएको थियो । त्यही भेटमा नै ‘नेपाल धितोपत्र बोर्डको अध्यक्षमा बसेर हामीलाई सहयोग गरिदिनोस्’ भनेर वहाँले अनुरोध गर्नु भएको थियो ।
त्यो भेट नै मन्त्रीको रुपमा बाबुरामजीसँगको पहिलो र अन्तिम भयो । मेरो नियुक्तिपछि पाँच, छ महिना कति अर्थ मन्त्रालयमा बस्नु भयो, कुनै फोन पनि वहाँको आएन, भेट्न पनि बोलाउनु भएन, म पनि गइँन ।
एकैपटक वहाँको बिदाई निम्ति अर्थ मन्त्रालयमा भएको समारोहमा वहाँसँग भेट भयो । डेरा त उही २०४४ साले डेराबाहेक अहिलेसम्म देखेको छैन । मन्त्रीको घर आँगन भनेको टोलका छिमेकी र नेका नेता नरहरि आचार्यको आँगनभन्दा अरु नेताको आँगन अहिलेसम्म टेकेको छैन ।
त्यस समारोहको समापनपछिको चिया बिस्कुटको समयमा, बाबुरामजीलाई एउटा कुनातिर बोलाएर लगेँ र दुइटा कुरा गरेँ , एक “अब मैले पनि राजिनामा दिने त होला?” मैले सोधें, वहाँले भन्नुभयो “होइन किन दिनुहुन्छ बसिराख्नोस् न ।”
अनि मैले अर्को कुरो भनेँ, “सचिव रामेश्वरजीले मेरो भारत र श्रीलंकाको पुँजीबजार अध्ययन भ्रमणको फाइल अड्काएर दुःख दिनुभएको छ, स्वीकृति गर्न भनिदिनोस् न” वहाँले “हुन्छ म भन्छु“ भनेर भन्नु भयो ।
त्यसपछि पनि मैले वहाँसÞग आँखा उधाएर एकोहोरो हेरेपछि वहाँले कुरो बुझ्नु भएछ, “हुन्छ, म भन्छु भन्या” वहाँले दोहोर्याउनु भयो ।
रामेश्वरजीले बाबुराम अर्थ मन्त्रालयमा छँदादेखि नै दुःख दिन थाल्नु भएको थियो, तर म बाबुरामजीलाई भेटेर भन्दैनथ्ये । बाबुरामजीले भनिदिनु भएछ क्यारे त्यो फाइल स्वीकृत भयो ।
धितोपत्र बोर्डको अध्यक्ष विदेश भ्रमणमा जानु परे अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने अनौठो नियम थियो ।
नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. सुरवीर पौड्यालको स्मरण तथा अनुभूति उनको फेसबुकबाट उधृत गरिएको होः सम्पादक ।
प्रतिक्रिया