Logo

Banner-news

जीईलाई खिम्ती, बाह्रबिसे र लप्सीफेदी ग्रीड पूर्वाधार स्तरोन्नतिको जिम्मा


GDP Nepal
   १३ चैत्र २०७७, शुक्रबार


काठमाडौं । जीई रिन्युएबल इनर्जीज् ग्रीड सोलुसन्स बिजनेस (एनवाइएसइजीई) ले नेपालको खिम्ती, बाह्रबिसे र लप्सीफेदीमा अवस्थित ३ वटा ग्यास–इन्सुलेटेड सब–स्टेशनहरु (जिआइएस) स्तरोन्नति गर्ने जिम्मा पाएको छ ।

अर्बौं रुपैयाँको यी ठेक्काको जिम्मा आफूले प्राप्त गरेको जीईले पुष्टि गरेको छ । यी आधुनिक सब–स्टेशनहरुले नेपालको राजधानी काठमाडौभन्दा बाहिर रहेका लाखौं घर परिवारहरु जसले अहिलेसम्म बिजुलीको उपभोग गर्न नपाई अँध्यारोमा जीवन बिताउनु परिरहेको छ, उनीहरुलाई बिना अवरोध हाइड्रो ऊर्जा उपभोग गर्ने अवसर प्रदान गर्नेछन् ।

नेपाल विद्युत प्राधिकरणद्वारा जीईद्वारा प्रस्तुत प्रस्ताव उपर स्वीकृती प्रदान गरेको उसले जनाएको छ ।

नेपाल जलस्रोतको धनी देश हो र यहाँको गरीबी न्यूनीकरण गर्न र आर्थिक विकासको लागि बिद्युत उत्पादनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । जीईले स्तरोन्नति गर्ने जिम्मा पाएको ३ वटा जिआइएस सब–स्टेशनहरुको क्षमता २२० किलो भोल्ट (केभि) बाट ४४० किलो भोल्ट(केभि) बनाउने रहेको छ, जुन नेपाल दक्षिण एशिया उप–क्षेत्रीय आर्थिक सहयोग(सासेक) विद्युत प्रसारण एवं वितरण परियोजनाको एक महत्वपूर्ण हिस्सा हो ।

यस आयोजनाले नेपाललाई छिमेकी मुलुकहरुसँग बढी भएको बिजुलीको व्यापार गर्न पनि समर्थ बनाउनेछ । परियोजनाको नेतृत्व नेपाल विद्युत प्राधिकरणले गर्नेछ र लगानी एशियाली विकास बैंक र नेपाल सरकारको रहनेछ ।

“यो परियोजना नेपालको सम्पूर्ण भूभागमा दिगो, भरपर्दो एवं सर्वसुलभ बिजुली उपलब्ध गराउने हाम्रो लक्ष्यलाई पूरा गर्ने दिशाको एक महत्वपूर्ण कदम हो । सबै नेपालीहरुलाई विद्युत उपभोगको पहुँचमा ल्याउने र बिजुली व्यापारको सम्भावना पनि स्थापित गर्ने हाम्रो आधारभूत उद्देश्य हो र हामी हाम्रो लक्ष्यमा जीईसँग सहकार्य गर्न पाएकोमा हर्षित छौं,” नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भने ।

हिउँदको याममा हुने बिजुली अभावको कारण नेपालले वर्षौंसम्म लोडसेडिङ्गको चर्को मार खेप्नु परेको थियो । नेपाल विद्युत प्राधिकरणले बितेका वर्षहरुमा देशको विद्युतीय ऊर्जाको क्षेत्रमा उलेख्य सुधार गरेको छ ।

यद्यपि, बिजुली उत्पादन स्थलदेखि भारबहन केन्द्रहरुसम्म अवरोधरहित र सहज विद्युत आपूर्तिका लागि प्रसारण प्रणालीको क्षमता निरन्तर बढाउन जरुरी हुन्छ । सन् २०१६ मा नेपाल सरकारले आगामी दश वर्षभित्रमा १० हजार मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने र बढी भएका बिजुली छिमेकी मित्रराष्ट्रहरुमा बिक्री गर्ने योजना अघि बढायो । यी योजनाहरुले देशको प्रसारण प्रणालीहरुको तत्कालै विस्तार तथा स्तरोन्नति गर्नु पर्ने आवश्यकता औल्यायो ।

जीईज् ग्रीड सोलुसन्स, दक्षिण एशियाका सभापति तथा सिइओ पिताम्बर शिवनानीले भने, “भयो नेपालको प्रसारण पूर्वाधार स्तरोन्नति गर्ने कार्यमा नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गर्न पाएकोमा हामीले गौरवको अनुभूति गरेका छौं । विश्वभरका ९० प्रतिशतभन्दा बढी विद्युतीय उपकरणहरु जीईको ग्रीड प्रविधिका साथ जडित छन् । हाम्रो सब–स्टेनशहरुले अत्यन्त आधुनिक ग्रीड प्रविधि प्रयोग गर्दछन् जसमा छिटोछरितो प्रसारण, व्यापक भार नियन्त्रण र सही समय अनुगमन जस्ता फाइदाहरु समाविष्ट हुन्छन् । यी सब–स्टेशनहरुले नेपाली जनताहरुका लागि स्थीर र भरपर्दो विद्युत आपूर्तिको सुनिश्चितता प्रदान गर्नेछन् ।”

जीईको ग्यास इन्सुलेटेड सब–स्टेशन(जिआइएस) प्रविधि विश्वकै सबैभन्दा आधुनिक सब–स्टेशन प्रविधि मध्येको एक हो र स्थापनाको लागि एयर इन्सुलेटेड सब–स्टेशन (एआइएस) को दाँजोमा ७० प्रतिशत कम जमिन भए पुग्छ ।

नेपालको यो स्तरोन्नति आयोजनाको लागि आवश्यक सम्पूर्ण उपकरणहरु जीईको ग्रीड सोलुसन्सको अत्याधुनिक नवीनतम प्रविधिको कारखानामा उत्पादन गरिनेछन् र त्यहींबाट आपूर्ति पनि गराइनेछ । यी कारखानाहरु भारतको पडाप्पाइ, होसुर, नोएडा र पल्लवरममा अवस्थित छन् ।

प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह