Logo

सूचना/प्रविधि

नेपाल टेलिकमको सेवाबापतको आय बढ्यो


GDP Nepal
   १ जेष्ठ २०७८, शनिबार


काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा सेवाबापतको आय करिब ७ प्रतिशतले वृद्धि भएको जनाएको छ । तेस्रो त्रैमासिकमा टेलिकमले सेवाबाट मात्रै ९ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । यो दोस्रो त्रैमासिकको सेवाबापतको आम्दानीभन्दा ६३ करोड ६८ लाखले बढी हो ।

टेलिकमको दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खुद नाफा पनि बढेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । दोस्रो त्रैमासिकमा खुद मुनाफा १ अर्ब ७७ करोड १६ लाख रहेकोमा तेस्रो त्रैमासिकमा खुद नाफा २ अर्ब ५९ करोड ५० लाख ७७ हजार पुगेको कम्पनीले बताएको छ ।

दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खुद मुनाफा ८२ करोड ३४ लाख ५२ हजार बढेको हो । टेलिकमले गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म गरेको कुल सेवाबापतको आयभन्दा योपटकको सेवाबापतको आय करिब साढे दुई प्रतिशतले बढेको छ । गत वर्ष तेस्रो त्रैमासिकसम्म टेलिकमले सेवाबाट मात्रै २६ अर्ब ८३ करोड ६६ लाख आम्दानी गरेको थियो । यो आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म सेवातर्फबाट २७ अर्ब ४५ करोड १३ लाख आम्दानी गरेको टेलिकमले जनाएको छ ।

सेवातर्फको आय र मुनाफा बढे पनि कुल आम्दानीमा भने यो वर्ष कमी आएको टेलिकमले जनाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म टेलिकमले ३२ अर्ब २७ करोड २३ लाख आम्दानी गरेको थियो । तर यो आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म टेलिकमको कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख मात्रै छ ।

खुद मुनाफा पनि गत वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत वर्ष तेस्रो त्रैमासिकसम्म टेलिकमले ७ अर्ब ५६ करोड ५५ लाख खुद मुनाफा गरेको थियो । तर यो वर्ष तेस्रो त्रैमासिकसम्म ५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा कुल निक्षेपमा प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको तुलनामा कम भएकाले ब्याज आम्दानीमा कमी आएकाले खुद मुनाफामा कमी आएको टेलिकमको विश्लेषण छ ।

प्रकाशित : १ जेष्ठ २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह