Logo

Banner-news

समुन्द्रटार–त्रिशूली प्रसारणलाइनः डेढ अर्ब लगानी, २७० मेगावाटसम्म विद्युत् प्रवाह क्षमता


GDP Nepal
   २० असार २०७८, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको समुन्द्रटार–त्रिसूली ३ बी हब १३२ केभी डबल प्रसारण लाइन र सबस्टेसनको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्माण भएको प्रसारण लाइन र १३२/३३ केभी समुद्रटार सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारबाट सुरु भई किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिसूली ३ हब सबस्टेसनसम्मको २६ किलोमिटर प्रसारण लाइनले २७० मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्ने छ । यस लाइनमा जोडिने गरी तादी खोला र यसका सहायक खोलाहरुमा निजी लगानीमा ६० मेगावाटका १० जलविद्युत् आयोजनाहरु निर्माणको विभिन्न चरणमा छन् ।

२६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन जनताको जलविद्युत कार्यक्रमअन्तर्गत नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त प्रवद्र्धनमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने छ ।

समुन्द्रटार सबस्टेसनमा १३२/३३ केभीतर्फ २ थान ३० एमभीए क्षमताका ट्रान्सफर्मरहरु र ३३/११ केभीतर्फ २ थान ८ एमभीए क्षमताका ट्रान्सफर्मरहरु जडान गरिएको छ । १३२ तर्फ ५ वटा बे र ३३ केभीतर्फ ४ वटा बे उपकरणहरु जडान गरी सञ्चालनमा ल्याइएको छ । सबै उपकरणहरुलाई अत्याधुनिक सबस्टेसन अटोमेसन प्रणालीबाट नियन्त्रण गरिने छ ।

सबस्टेसनबाट स्थानीय रुपमा पनि विद्युत आपूर्ति गरिने भएकोले नुवाकोटको पूर्वी भेगमा विद्युत भोल्टेजको सुधार र कटौतीमा रहेको समस्या समाधान हुने छ । नेपाल सरकारको लगानी र एसियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माण भएको प्रसारण लाइन र सबस्टेसनको कूल लागत १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत प्रसारण लाइन निर्माणका लागि इटिइआरएन सिसिसिई एफइपिइसी जेभी, चीनसँग १३ मंसिर २०७३ ठेक्का सम्झौता भएको थियो । सबस्टेसन ३३ रोपनी जग्गामा फैलिएको छ । प्रसारण लाइनको टावरका लागि २१ रोपनी र तारमुनि ९ सय ४८ रोपनी जग्गा उपयोग गरिएको छ ।

बालुवाटारमा भएको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विष्णु पौडेल, मुख्य सचिव शंकरदास बैरागी, ऊर्जा, जलस्रोत एवं सिंचाइ सचिव देवेन्द्र कार्की, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलगायतको उपस्थिति थियो ।

प्रकाशित : २० असार २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह