Logo

Banner-news

कांग्रेस र निजी क्षेत्रलाई जोड्ने ‘सेतु’ दिव्यमणि राजभण्डारीको उद्योगमन्त्रीमा चर्चा


GDP Nepal
   ३० असार २०७८, बुधबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपाली कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीको सहभागिता सुनिश्चित भइसकेको छ भने नेकपा एमाले माधव नेपाल समूह र जनमोर्चा नेपालको सहभागिता अन्योलमै छ । यद्यपि, सत्तारुढ दलभित्र नयाँ मन्त्रीका रुपमा विभिन्न नाम चर्चामा आइरहेका छन् ।

नेपाली कांग्रेसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका रुपमा व्यवसायी दिव्यमणि राजभण्डारीको चर्चा सुरु भएको छ । कांग्रेस निकट उद्योगी व्यवसायीले राजभण्डारीलाई उद्योगमन्त्रीका रुपमा मन्त्रिमण्डलमा समावेश गर्न प्रधानमन्त्री देउवालाई सामूहिक आग्रह गने तयारी गरिरहेका छन् ।

दिव्यमणि राजभण्डारी

चार दशकभन्दा लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय राजभण्डारीको परिवार विपी कोइरालाकालीन कांग्रेस मानिन्छ । पञ्चायतकालदेखि नै कांग्रेस राजनीतिमा निजी क्षेत्रका तर्फबाट सक्रिय थिए ।

नेपाली कांग्रेसमा आम व्यवसायीको आकर्षण बढाउन राजभण्डारीको अथक योगदान रहेका कारण उनी यस वृत्तमा लोकप्रिय छन् भने व्यवसायका समस्या बुझ्नसक्ने व्यवसायीका रुपमा उनलाई लिइएको छ ।

दिव्यमणि कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलकै समकालीन भए पनि विगतमा राजनीति र व्यवसायलाई सँगै अगाडि बढाउँदा पार्टीको माथिल्लो तहमा पुगेका थिएनन् । यद्यपि, नेपाली कांग्रेस र निजी क्षेत्रबीच सेतुको भूमिकामा लामो समयदेखि रहेका राजभण्डारीलाई निजी क्षेत्रले पनि रुचाउँछ ।

परराष्ट्र मामिलाका पनि उत्तिकै जानकार राजभण्डारी संसदमा यससम्बन्धी तर्कपूर्ण प्रस्तुतीका कारण न्यूजमेकरका रुपमा समेत स्थापित भइसकेका छन् । यूरोपेली इकोनोमिक चेम्बरका अध्यक्षसमेत रहिसकेका राजभण्डारीको उद्योगमन्त्रीमा नियुक्ति भए कोभिडपछिको आर्थिक पुनरुत्थान तथा मुलुकमा लगानीमैत्री वातावरण निर्माणमा समेत सहयोग पुग्ने व्यवसायीहरुको विश्वास छ ।

व्यवसायीलाई उद्योगमन्त्रीका रुपमा नियुक्ति गर्दा कन्फ्ल्क्टि अफ इन्ट्रेष्टको सम्भावना देखिने भए पनि राजभण्डारी हाल व्यवसाय छाडेर पूर्णकालीन राजनीतिमा छन् । राजभण्डारीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुअगावै व्यवसायबाट अलग्गिएको घोषणा गरेका थिए ।

साना तथा मझौला व्यापारीहरूले विशेष रुपमा राजभण्डारीलाई रुचाउँछन् । न्युरोडको आफ्नो घर ‘द्वाल्खा छें’ मा घर बहाल मा बसी व्यवसाय गर्ने साना मझौला व्यवसायीहरूलाई उनले दुई महिनाको घर बहाल मिनाहा गरी राहत प्रदान गरेका थिए ।

प्रकाशित : ३० असार २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह