Logo

Banner-news

डेढ अर्ब लगानीमा कागज उद्योगः सय जनालाई रोजगारी, दैनिक ७५ टन उत्पादन


GDP Nepal
   १२ श्रावण २०७८, मंगलबार


काठमाडौं । आइएमई समूहको मुख्य लगानी तथा अन्य तीन व्यवसायीको सहलगानीमा प्रदेश २ को महोत्तरीमा कागज उद्योग स्थापना हुने भएको छ । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा स्थापना हुने यो उद्योगमा १ अर्ब ५० करोड लागत रहने जनाइएको छ ।

नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालिमा आईएमई समूहसहित सर्राफ समूह, उद्योगपति सुनिलगोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको लगानी रहेको जनाइएको छ । दैनिक ७५ टन कागज उत्पादन क्षमता रहेको उद्योग आउँदो एक वर्षभित्र सञ्चालनको लक्ष्य लिइएको आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

कागज उद्योग स्थापनाका लागि सोमबार शिलान्याश सम्पन्न भएको छ । आइएमई समूहका अध्यक्ष तथा उद्यमी ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालिको संयुक्त रुपमा शिलान्याश गरेका हुन् । उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुने जनाइएको छ । उद्योगलाई आवश्यक पर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम शुरु गरिने लक्ष्य रहेको ढकालले जानकारी दिए ।

कागज उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा एक सय जनाले तत्काल रोजगार पाउने बताइएको छ । सो समारोहमा उद्यमी ढकालले एक वर्षमा कारखाना भवन निर्माण भएसँगै उत्पादन थालिने जानकारी दिए । नेपालमा कागज उत्पादनको क्षेत्रमा काम गरिरहेका वरिष्ठ र अनुभवी व्यवसायीहरूको संलग्नतामा सञ्चालन हुने यस कारखानाबाट नेपालमा हुने कागजको आयातलाई प्रतिस्थापन गरिने उनले बताए ।

नेपालमा ‘फिनिक्स प्रडक्ट’ नै दिने यस्तो खालको उद्योग पहिलो पटक स्थापना हुन लागेको जनाइएको छ । यसबाट नेपालमा अहिलेसम्म हुने गरेको कागजको आयातलाई प्रतिस्थापन गर्नेे अपेक्षा गरिएको छ । आफ्नो ठाउँमा नयाँउद्योग स्थापना हुन लागेकामा रामनगरवासी उत्साहित देखिएको उद्यमीहरुले बताएका छन् ।

रामनगरमा यसअघिदेखि नै एभरेष्ट सुगर ऐण्ड केमिकल इण्ड्रष्ट्रिज सञ्चालनमा छ ।

प्रकाशित : १२ श्रावण २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह