Logo

Banner-news

सीएनआई वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरीको बाटो क्लियर !


GDP Nepal
   १२ श्रावण २०७८, मंगलबार


काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को उपाध्यक्षमा सात उपाध्यक्ष चयन भएका छन् । परिसंघका ३७ राष्ट्रिय परिषद सदस्यमध्येबाट मंगलबार सात उपाध्यक्ष चयन गरिएका हुन् ।

परिसंघ उपाध्यक्षका लागि दर्जनभन्दा बढी उद्यमी आकांक्षी थिए । जसमध्ये निर्वाण कुमार चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल र रोहित गुप्ता उपाध्यक्ष चयन भएका हुन् ।

उपाध्यक्षमध्येबाटै वरिष्ठ उपाध्यक्षसमेत चयन हुने भएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ । वरिष्ठ उपाध्यक्षको दौडमा रहेका अनुजकुमार अग्रवाल उपाध्यक्ष नै चयन नभएपछि यस पदका लागि युवा उद्यमी निर्वाण चौधरीको सम्भावना बलियो बनेको छ ।

निर्वाण चौधरी

अघिल्ला दुई कार्यकालमै वरिष्ठ उपाध्यक्षका बलिया प्रत्यासी मानिएका अनुज अग्रवाल यसपटक उपाध्यक्ष नै चयन नभएपछि निर्वाण चौधरी वरिष्ठ उपाध्यक्ष बन्ने पक्कापक्की भएको सीएनआई स्रोतले जनाएको छ । अग्रवालले सीएनआईको नेतृत्वमा जान आफैं अनिच्छा देखाउँदै आएको बताइएको छ । व्यवसाय र नेतृत्व दुवैमा अब्बल रहे पनि अग्रवालले पारिवारिक कारण देखाउँदै यसअघि सीएनआई नेतृत्वमा पुग्न रुचि देखाएका थिएनन् ।

निर्वाण चौधरी समूहका प्रबन्ध निर्देशक हुन् भने उनका पिता विनोद चौधरी सीएनआईका संस्थापक अध्यक्ष तथा हाल प्रेसिडेन्ट एमिरेट्स रहेका छन् । निर्वाण यसपटक वरिष्ठ उपाध्यक्ष निर्वाचित भए अर्को कार्यकालमा स्वतः अध्यक्ष निर्वाचित हुनेछन् ।

यसअघि साउन ६ गते सम्पन्न परिसंघको १८औं वार्षिक साधारण सभाले विष्णुकुमार अग्रवाललाई अध्यक्ष चयन गरेको थियो ।

परिसंघका नयाँ उपाध्यक्षमध्ये राजेश अग्रवाल आरएमसी ग्रुपका प्रबन्ध निर्देशक हुन् । हेमराज ढकाल आइएमई समूहका कार्यकारी निर्देशक तथा राजबहादुर शाह जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रवन्ध निर्देशक हुन् ।

यस्तै, रोहित गुप्ता रमेश कर्पका उपाध्यक्ष हुन् भने वीरेन्द्रबहादुर पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका संचालक हुन् । कृष्णप्रसाद अधिकारीले चितवन उद्योग संघको प्रतिनिधित्व गर्दछन् ।

परिसंघ उपाध्यक्षमा चौधरी, अग्रवाल, पाण्डे र अधिकारी यसअघिको कार्यसमितिमा पनि उपाध्यक्ष नै थिए भने गुप्ता, ढकाल र शाह पहिलोपटक चयन भएका हुन् ।

प्रकाशित : १२ श्रावण २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह