काठमाडौं । होटल संघ नेपालले पूर्व अध्यक्ष श्यामसुन्दर लाल कक्षपतिको निधनबाट पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाएको छ ।
हानले मंगलबार शोक वक्तव्य जारी गर्दै दुःखको यस घडिमा उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
कक्षपतिको ६९ वर्षको उमेरमा यही साउन २५ गते थाइल्याण्डस्थित वमरुनगार्ड अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
वि.सं. २००९ सालमा पाल्पामा पिता रामलाल कक्षपति र माता कृष्ण बदन कक्षपतिको कोखबाट जन्मेका स्वर्गीय कक्षपतिले सन् १९७३ मा रत्नपार्क, काठमाडौंमा क्याफे डे पार्क नामक रेस्टुरेन्टबाट आरम्भ गरेका थिए ।
उनले व्यवसाय विस्तार गरी कुरिनटारमा रिभरसाइड स्प्रिङ रिसोर्टको स्थापना गरे । मुलुकमा आधुनिक रेस्टुरेन्ट व्यवसायको प्रणेताको रुपमा परिचित कक्षपतिले रेस्टुरेन्ट व्यवसायको प्रवद्र्धनमा अग्रणी भूमिका निर्वाह गर्दै नाङलो तथा बेकरी क्याफे लगायतको विस्तार गरे ।
यसैगरी उनले दरबारमार्गमा श्याम्स वन ट्री रेस्टुरेन्टको स्थापना गरेका थिए । उनको शिक्षा क्षेत्रमा पनि ठूलो योगदान रहेको छ । काठमाडौं लगायत उपत्यका बाहिर रेस्टुरेन्ट विस्तार गर्दै पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याएका कक्षपतिले अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्जाल विस्तार गर्न पनि उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।
कक्षपतिले विगत लामो समयदेखि होटल संघ नेपालमा आवद्ध रही सन् २०१२ देखि सन् २०१४. सम्म होटल संघ नेपालको नेतृत्व गरेका थिए । उनी प्रवल जनसेवा श्री मानपदवीबाट विभूषित थिए । उनको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
प्रतिक्रिया