काठमाडौं । सर्वसाधारणबाट चर्को आलोचना भइरहे पनि सरकारले काठमाडौँ उपत्यकामा आज (बिहीबार)राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरेको छ ।
कोभिड संक्रमितको संख्या बढेसँगै होटल तथा रेष्टुरेन्टमा भइरहको भीड नियन्त्रणका लागि सरकारले रातिको समयमा सवारीसाधनमा प्रतिबन्ध लगाएको हो । तर, आम सर्वसाधारणले भने यसलाई ‘राति ८ बजेपछि मात्र कोरोना सर्ने प्रशासनको बुझाइ’का रुपमा चित्रण गरिरहेका छन् । सामाजिक सञ्जाल र चिया पसलमा यतिबेला स्थानीय प्रशासनको यो निर्णय ‘हट टपिक’ बनिरहेको छ ।
सरकारले रातिको समयमा सार्वजनिक तथा निजी सवारीसाधनमा रोक लगाइनुको कारण स्पष्ट पार्न नसक्दा अन्योल र अड्कलबाजी भइरहेका छन् । तर, रात्रि वसमार्फत अन्तरजिल्ला यातायात गर्ने यात्रु तथा अन्य भने यसबाट क्रुद्ध भएका छन् ।
आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ ।
अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरूपमा मात्रै गर्ने निर्णय गरेको थियो ।
अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहितको बैठकले उक्त आदेश जारी गरी लागू गरेको हो ।
अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ ।
प्रतिक्रिया