Logo

Banner-news

नेपालमा विकास किन भएन ? यी ६ कारण र समाधानका तीन उपाय !


GDP Nepal
   ३१ श्रावण २०७८, आइतबार


डा. दधि अधिकारी

अर्थशास्त्रीको रुपमा मलाई कक्षा कोठामा विद्यार्थीहरुले, मिडियामा पत्रकार साथीहरुले तथा तालिम, गोष्ठी र सेमिनारमा सहभागीहरुले बारम्बार सोध्ने एउटा प्रश्न हो, नेपाल किन यति खत्तम भयो ? नेपालको विकास किन भएन?

यो प्रश्नको जवाफमा मैले केहि तथ्याङ्क देखाऊँछु र भन्छु १९९० पछि नेपालको विकास द्रुत गतिमा भएको देखिन्छ । सडक सञ्जान वढेको छ, विद्यालय र अस्पताल वढेको छ, मानिसको प्रति व्यक्ति आय वढेको छ, हाम्रो प्रविधिमा पहुँच वढेको छ आदि आदि ।

अनि सबैको एउट प्रश्न हुन्छ त्यसो भए आम मानिसमा यो निराशा किन त?मानिस किन निराश छन् भन्ने प्रश्नको उत्तर समाजशास्त्रीहरुले अझ उत्तम तरिकाले दिन सक्नु होला । तर मेरो विचारमा तलका केहि कारणहरु निराशा उत्पन्न गर्न जिम्मेवार छन् होला । अरु अन्य केहि कारण भए थप्नु होला है ।

१. हाम्रो चाहना भन्दा कम विकास भयोः हामीले अहिले विश्व देखेका छौं । अमेरिका कस्तो छ, चीन कस्तो छ, कोरियाका बाटाघाटा कस्ता छन्, नर्डिक देशहरुमा नागरिकलाई कस्ता कस्ता सुविधा छन् भन्ने कुरा हामीलाई थाहा छ । तर ति सुविधा हामी कहाँ छैनन् । त्यसैले हामीमा निराशा वढेको हुन सक्छ ।

२. गुणस्तरीय विकास भएनः हामीकहाँ बाटोको लम्बाई त वढ्यो तर गुणस्तर भएन, धारा त आयो तर पानी आएन, स्कूल त बन्यो तर गुणस्तरीय शिक्षा भएन । यसले पनि निराशा छाएको छ ।

३. असमान आमदानीः हिजो सम्म केहि मिहेनत नगर्ने मानिस एकाएक धनि भए, तर मरेर पढ्ने मानिसलाई सधै हातमुख जोर्न समस्या पर्यो । काम नै नगरि एकाएक धनि हुने जुन प्रर्वत्तिको विकास भयो त्यसले मिहेनती मानिसलाई निराश बनायो ।

४. सुशासनको अभावः वढ्दो भ्रष्टार, सरकारी निकायमा चल्ने नातावाद र कृपावाद, भनसुन नगरि कामै नहुने, जिम्मेवारी बोधको अभाव जस्ता कुरालो आम मानिसमा निराशा छाएको छ ।

५. राजनीतिक अस्थिरताः देशमा भएको अति राजनीतिकरण, नेताहरुले पदको निमित्त जे पनि गर्ने र उनिहरुले दिने खोक्रो आश्वासनले पनि निराशा जगाएको हुनु पर्दछ ।

६. बढ्दो असमानताः नेपालमा आयको असमानता वढ्दो छ । सबैको आमदानी वढेको छ भने असमानता वढ्दैमा खासै समस्या हुँदैन तर मानवीय प्रवृत्ति के हो भने उसले असमानता रुचाऊँदैन । त्यसैले वढ्दो असमानता पनि निराशाको कारण हुन सक्छ ।करण जे सुकै होस, वढदो निराशा राष्ट्रको चौतर्फी विकासको निमित्त खतरा हुन्छ । बहुसंख्यक मानिसमा निराशा छायो भने विद्रोह हुन सक्छ ।

राज्यले बेलैमा यो समस्या समाधान गर्न पहल गर्नु पर्दछ । व्यक्तिगत रुपमा निराश नहुन निम्न कार्य गर्न सकिन्छ ।

१. मिहेनत गर्ने ः यदि ईमान्दारीपूर्वक मिहेनत गर्यो भने एक न एकदिन त्यसको प्रतिफल प्राप्त हुन्छ । भनसुन गरिदिने मानिस नभए पनि ईमान्दारी पूर्वक गरिएको मिहेनतलाई समाजले एक न एक दिन पक्कै पनि सम्मान गर्दछ । केहि ढिलो हुन सक्छ ।

२. तथ्यमा ध्यान दिनेः अहिले सोसियल मिडियामा आएका कुराहरुले निकै छिटो प्रभाव पार्दछ । हामीलाई के थाहा छ भने सहि कुरा भन्दा गलत कुरा निकै छिटो फैलन्छ । अतः राजतन्त्र ठीक की गण तन्त्र ठीक, संघियता ठिक की बेठिक, समजवाद की पुँजीवाद जस्ता कुरामा सोसियल मिडियामा आएका सबै कुरा ठिक नहुन सक्छन् । त्यसैले आफै तथ्यहरुको खोजी गरेर धारणा बनाऊँ । उदाहरणको निमित्त पूर्ण राज्य नियंत्रीत समाजवाद र पूर्ण पुँजीवाद संसरमै न पहिले थियो, न अहिले छ र न भविष्यमै हुने छ (रुस, चीन, उ. कोरिया जस्ता देशले कोशिष गरे पनि सफल भएनन्) । अतः यी सैद्धान्तिक रुपमा मात्र अस्तित्वमा हुने कुरामा अनावश्यक बहस र साथीभाई संग दुस्मनी गर्नु बेकार छ ।

३. धेरै कुरा आफैले गर्नेः काम गर्दा अवसर लागतको ख्याल गरेर धेरै कुरा आफै गर्ने हो भने निराशामा केहि कमी आउन सक्छ । टेक व्याक द ईकोनोमी भन्ने किताबका लेखिकाहरुले एउटा निकै राम्रो सल्लाह दिएका छन्ः यदि पुँजीवादलाई परास्त गर्ने हो भने अरु केहि गर्नु नै पर्दैन मात्र आफ्नो खाली समयमा घरका काम गर्ने हो भने पुँजीबादको असर धेरै हद सम्म कम हुन्छ (यो किताबले भनेका कुरा अलि गहन र विस्तृत छन् ) ।

यी र यस्ता धेरै अन्य तरिकाले निराशामा कमी ल्याउन सकिन्छ । अरु केहि भए थपौं । ध्यान गर्ने वा कसरत गर्ने जस्ता कुराहरुको आफ्नै महत्व छन् तर पनि मेरो आशा राजनैनिक आर्थिक विषयबस्तु मा गरिने सुधारबाट कसरी निराशा कम गर्ने भन्ने कुरा आओस भन्ने हो ।

प्रकाशित : ३१ श्रावण २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह