Logo

Banner-news

‘टाइगर प्यालेसमा फूलबारी रिसोर्टको नियति दोहोरिन दिनु हुन्न भनेरै खरिदको निर्णय’


GDP Nepal
   ३२ श्रावण २०७८, सोमबार


काठमाडौं । रुपन्देहीको ५ तारे लग्जरी रिसोर्ट टाइगर प्यालेस खरीदका लागि गैरआवासीय नेपालीसहित उदीयमान उद्यमीहरुले प्रक्रिया अघि बढाएका छन् ।

गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्वअध्यक्ष तथा अमेरिकामा स्थापित कानुन व्यवसायी खगेन्द्र जिसीको मुख्य लगाानी रहने नयाँ टीममा पछिल्लो समय आक्रामक लगानी विस्तार गर्दै आएको मोफसलको भुसाल समूहले पनि सहकार्य गरिरहेको छ ।

गैरआवासीय नेपालीमार्फत प्रत्यक्ष लगानी भित्रिने र स्वदेशी लगानीकर्ताले पनि पुँजी जुटाउने अभियानसहित होटल खरिदबिक्रीका लागि प्रारम्भिक सम्झौता भइसकेको भुसाल समूहका अध्यक्ष बालकृष्ण भुसालले जानकारी दिए ।

“टाइगर प्यालेस होटलमात्र नभै रुपन्देही र सिंगो लुम्बिनी प्रदेशकै सान हो, यसलाई बन्द हुन दिनु हुँदैन भनेर हामीले ठूलो जोखिम मोलेरै खरीद गर्न लागेका हौं,” अध्यक्ष भुसाल भन्छन्, “होटल सधैँका लागि बन्द हुँदा र विदेशी लगानीकर्ता रित्तो हात फिर्ता हुनुपर्दा मुलुककै प्रतिष्ठा समाप्त हुनसक्छ भन्नेमा पनि हामी सचेत छौं ।”

भुसालले आफूहरुको समूहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता खगेन्द्र जिसी नै लगानीकर्ताका रुपमा रहेका कारण कानुनी समस्याको छिनोफानोपछि मात्र होटल खरिदको अन्तिम सम्झौता हुने बताए ।

“यहाँ अहिले देखिएको र देखाउन खोजिएको विवादभित्रको यथार्थता बुझेर नै हामीले लगानी गरिरहेका छौं,” उनले भने, “हामीले नै होटल खरिद गर्नुपर्छ भन्ने होइन, सिल्भर हेरिटेजले पनि जसले बढी मूल्य दिन्छ उसैलाई बिक्री गर्ने हो तर यसमा स्वस्थ प्रतिस्पर्धा भने हुनुपर्छ ।”

टाइगर प्यालेस बन्द भएर पोखराको फूलबारी रिसोर्टकै नियतिमा पुग्न नदिन आफूहरुले खरिदको निर्णय गरेको उनी बताउँछन् । “म आफैं अरु दुईवटा पाँचतारे होटल बनाइरहेको छु,” उनी भन्छन्, “तर, पश्चिम नेपाललाई नै चिनाउने टाइगर प्यालेस बन्द गराएर अरु होटल चलाउँछु भन्नु हामीले विदेशमा नेपालको बदनाम गराउनु हो, यसरी न विदेशी पर्यटक आउन सक्छन्, न एफडीआई नै आउन सक्छ ।”

अर्घाखाँचीमा जन्मिएर गुल्मीबाट व्यवसाय सुरु गरेका भुसाल पछिल्लो समय बुटवल क्षेत्रका स्थापित व्यवसायी मानिन्छन् । उनले पछिल्लो समय खरिद गरेको विशाल सिमेन्ट र प्लाइउड कम्पनीमात्र नभइ नेपाल–भारत सीमामा निर्माणाधीन ५ तारे होटल नान्स खरीद गरी मेगा होटलका नाउँमा सञ्चाालनको तयारीमा छ ।

मेगा बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंकलगायतका वित्तीय क्षेत्रमा पनि लगानी रहेको यो समूह भुसाल केबल एन्ड वायर उद्योग तथा हल्यान्ड ट्रयाक्टरको बिक्रेताका रुपमा पनि परिचित छ ।

प्रकाशित : ३२ श्रावण २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह