काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ‘विदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ भन्ने नयाँ नाराका साथ अघि बढ्ने बताएकी छन् ।
नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले नेपाली पुँजी विदेशिन नदिन सो कार्यक्रम अघि सारेको बताएकी छन् ।
‘मैले सार्वजनिक गरेको मन्त्रालयको प्राथमिकतामा ‘विदेशी ग्यास छोडौँ, स्वदेशी विजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुलोको प्रयोग बढाउँदै लैजाने योजनालाई सहयोग गर्न धेरै विद्युत खपत गर्ने ग्राहकलाई विद्युत महसुलमा सुविधा दिने निर्णय समेत गरिसकेको छ,’ भुसालले भनिन्, ‘यसबाट ग्यास खरिबापत बिदेसिने पुँजी नेपालमै बस्छ र ग्राहकले सस्तोमा विद्युतको उपयोग गर्न पाउँछन्।’
त्यस्तै, गरिब तथा आधारभुत तहका जनतालाई मासिक २० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने निर्णय भएको भुसालले बताइन् । ‘विद्युत सेवा जनताको आधारभूत आवश्यकता नै हो। मैले मन्त्रालयको नेतृत्व सम्हाल्ने वित्तिकै गरिब तथा आधारभुत तहका जनतालाई मासिक २० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने निर्णय गरेँ,’ उनले भनिन्।
प्रतिक्रिया