Logo

अर्थनीति

पेट्रोलियम आयातले अर्थतन्त्र नै धरासायी, १ खर्ब ६० अर्बको भित्रियो


appharu
   १ श्रावण २०७५, मंगलबार


काठमाडौं । नेपालल् विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्न नसक्दा पेट्रोलियम पदार्थ आयात अर्थतन्त्रले धान्नै नसक्नेगरी बढेको छ ।

बढ्दो सवारी आयातसँगै पेट्रोलियम पदार्थको खपत वृद्धि हुँदा हिजो सकिएको आर्थिक वर्ष २०७४÷७५ मा मुलुकले १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ खरिद गरेको छ । पेट्रोल, डिजेल, मटीतेल, हवाई इन्धन तथा एलपी ग्यासलगायतका वस्तु खरिदमा मुलुकले यतिधेरै खर्च गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै गएकाले २७ लाख किलोलिटर इन्धन आयात भएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु तथा स्थानीय बजारमा पनि खपत बढ्नुजस्ता कारणले यतिधेरै पेट्रोलियम पदार्थ आयात भएको हो ।

नेपालले कुल बस्तु निर्यातबाट यस वर्ष ८० अर्ब हारहारीमा आम्दानी गर्ने प्रक्षेपण गरिएका बेला पेट्रोलियम पदार्थ आयातकै लागि यसको दोब्बर रकम खर्चिएको हो । नेपालमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा पर्ने गर्छ ।

निगमले शतप्रतिशत इन्धन इन्डियन आयल कर्पाेरेसनसँग खरिद गर्दछ । आईओसीले पनि तेस्रो मुलुकबाट कच्चा तेल भित्र्याएर प्रशोधन गरी स्थानीय बजारमा बिक्री तथा नेपालतर्फ निकासी गर्दछ ।

भारतमा अत्यधिक करका कारण नेपालमा भन्दा महँगोमा तेल बिक्री हुने गर्दछ । नेपालले भने प्रत्येक महिना आईओसीलाई १५ अर्ब रुपैयाँका दरले रकम भुक्तानी गर्दै आएको छ ।

निगमको तथ्यांकमा पछिल्लो ६ वर्षयता यो वर्ष सबैभन्दा बढी रकमको इन्धन आयात भएको छ ।
यस्तै, गत वर्ष अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकोे मूल्य प्रतिब्यारेल ४५ देखि ५० डलर रहेकोमा यो वर्ष बढेर ७५ देखि ८० डलर पुगेको छ ।

निगमका अनुसार हाल मासिक डिजेलको माग ७५ देखि ८० हजार किलोलिटर, पेट्रोल मासिक २५ सयदेखि ३ हजार किलोलिटर, हवाई इन्धन १२ देखि १५ हजार किलोलिटर र ग्यास २५ देखि ३० हजार टन रहेको छ ।

इन्धन आयात यसैगरी बर्सेनि बढ्दै जाने हो भने मुलुकको अर्थतन्त्रले धान्नै नसक्ने र शोधनान्तर घाटासमेत बढ्दै जाने देखिएको छ । यद्यपि, विद्युतीय सवारी र घरायसी सामग्रीको प्रयोग बढाउने हो भने यसलाई न्यूनीकरण गर्नसक्ने अवस्था भने बाँकी नै छ ।

प्रकाशित : १ श्रावण २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह