नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा छ करोडभन्दा बढी लगानीमा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले ‘किसान मार्ट’ सञ्चालनमा ल्याएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गैँडाकोट–४ स्थित गैँडाकोट एग्रो मार्ट परिसरभित्र सो मार्टको उद्घाटन गरे ।
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रवद्र्धन गरेको किसान मार्ट किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने संस्थाका अध्यक्ष तिलकप्रसाद पराजुलीले बताए । ७५ हजारभन्दा बढी सदस्य रहेको सहकारीका ५०० शेयर सदस्यको लगानीमा किसान मार्ट सञ्चालन भएको पराजुलीको भनाइ छ ।
विशेषगरी गैँडाकोट नगरपालिका– १, २, ३ र ४ तथा अन्य वडाकासमेत नगरवासीको सुविधालाई ध्यानमा राखी किसान मार्ट सञ्चालन गरिएको पराजुलीले बताए । मार्टमा स्थानीयले दैनिक उपभोग्य वस्तु सहजरुपमा प्राप्त गर्न सक्नेछन् ।
आगामी दशैँ, तिहारसम्म किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले गैँडाकोट नगरपालिकाभित्रका थप तीन स्थानमा मार्ट सञ्चालनको तयारी गरेको छ । दुई महिनाभित्र सहकारीले गैँडाकोटको वडानं ८, १० र १२ मा मार्ट सञ्चालन गर्ने गरी काम थालेको किसान उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पराजुलीले बताए ।
किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको किसान मार्टले स्थानीयले उत्पादन गरेको वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य लिएको छ । किसान मार्टको प्रवद्र्धक संस्था किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेले स्थानीयले उत्पादन गरेका वस्तु तथा सेवा किसान मार्टमार्फत बिक्रीवितरण गर्ने योजना रहेको जानकारी दिए ।
महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण र अर्गानिक खाद्य वस्तुको प्याकेजिङ गर्ने योजनासमेत रहेको उहाँको भनाइ छ । किसानले उत्पादन गरेका वस्तुु तथा सेवाको सहजरुपमा बजारीकरण र सहुलियत दरमा उपभोक्तालाई बिक्रीवितरण गर्नु नै मार्टको लक्ष्य रहेको अध्यक्ष चालिसेले बताए ।
स्थानीय उत्पादन अदुवा बेसार, दाल, चामल, धान, मकैलगायत खाद्यान्न सामग्रीलाई प्याकेजिङ गरी गुणस्तर कायम हुने गरी मार्टमार्फत उपलब्ध गराइने उनको भनाइ छ । आगामी दुई वर्षभित्र किसान ब्राण्डको शुद्ध खाने तेल उत्पादन गरी उपभोक्तामाझ लैजानेसमेत योजना रहेको अध्यक्ष चालिसेले जानकारी दिए । किसान मार्टमा हाल ११ जनाले प्रत्यक्षरुपमा रोजगारीको अवसर पाएका छन् ।
प्रतिक्रिया