Logo

कर्पोरेट-बजार

परिसंघमा ‘वुमन लिडरसिप फोरम’ गठन


GDP नेपाल
   २२ भाद्र २०७८, मंगलबार


काठमाडौं ।

नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा महिलाको भूमिका बढाउने उद्देश्यले ‘वुमन लिडरसिप फोरम’ गठन गरेको छ । परिसंघकी राष्ट्रिय परिषद सदस्य छाँया शर्माको संयोजकत्वमा फोरम गठन गरिएको हो । परिसंघका उपाध्यक्ष निर्वाण चौधरी कोअर्डिनेटिङ उपाध्यक्षको रूपमा रहनु भएको छ ।

मंगलबार परिसंघको कार्यालयमा भएको कार्यक्रममा उपाध्यक्ष चौधरीले अर्थतन्त्रको मूलप्रवाहमा महिलाहरूलाई ल्याउने उद्देश्यले यस फोरमको गठन गरिएको बताउनुभयो । ‘आर्थिक र व्यावसायिक क्षेत्रको नेतृत्व गरिरहनु भएका महिला नेतृहरूको साझा मञ्च बनाउने हाम्रो उद्देश्य हो,’ उहाँले भन्नुभयो, ‘यो अभियान हामी प्रदेश तहहरूमा विस्तार गर्नेछौँ ।’

कार्यक्रममा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले साना व्यवसाय गर्ने महिलाहरूमा वित्तीय पहुँच समस्याका विषय रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न फोरम सक्रिय हुनुपर्ने उल्लेख गर्नुभयो । ग्रामीण क्षेत्रमा व्यवसायमा जोडिन चाहने महिलालाई स्रोतका अभाव रहेको भन्नुहुँदै उहाँले वित्तीय स्रोत प्राप्त गर्ने तरिकारबो शिक्षित गर्नुपर्ने बताउनुभयो । ‘सीपमूलक तालिम लिएर पनि महिलाहरू उद्यममा जोडिन सक्नु भएको छैन,’ उहाँले भन्नुभयो, ‘त्यो अवस्था अन्त्य हुनुपर्छ ।’

यसैगरी फोरमकी संयोजक शर्माले महिलाहरूमा वित्तीय पहुँच अभिवृद्धिका लागि काम गर्ने उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रको प्रभावशाली छाता संगनठनको रूपमा परिसंघले महिला उद्यमीको क्षमता विकासमा परिसंघले काम गर्ने बताउनुभयो ।

सरकारले महिला उद्यमीलाई दिएका सुविधाबारे लक्षित समूहलाई जानकारी गराउने र उनीहरूलाई साक्षर बनाइ लाभ प्राप्त गर्न सक्ने गरी क्षमता अभविृद्धि गर्ने उद्देश्य फोरमको छ । यसैगरी आर्थिकरूपमा महिला सशक्तिकरणका लागि सीप विकास, नीतिगत सहजीकरण एवं छलफल र उत्पादनको बजारीकरण गर्ने उद्देश्य पनि फोरमको छ ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्थालाई महिला उद्यमीका लागि सहजरूपमा कर्जा उपलब्ध गराउन पहल गरिनुपर्ने, वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमबाट महिलाहरूको वित्तीय पहुँच अभिवृद्धिका लागि काम गरिनुपर्ने र उद्यमीहरूबीच सम्बन्ध एवं सञ्जाल विस्तार गरिनुपर्ने विषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा परिसंघकी राष्ट्रिय परिषद सदस्य वर्षा श्रेष्ठ, पम्फा धमला एवं उद्यमी तथा व्यावसायिक क्षेत्रका महिला नेतृहरू रिता भण्डारी, सुनिता नेमाफुकी, सरिता लामा, आशा राणा अधिकारी, अनुपमा खुन्जेली, मल्लिका श्रेष्ठ, मधु लोहिया, कल्पना श्रेष्ठ, आश्रयता चौधरी र उपाशना पौडेलको उपस्थिति थियो । परिसंघ सचिवालयबाट महानिर्देशक यादवप्रसाद पौड्याल र वरिष्ठ सल्लाहकार मेघनाथ न्यौपाने पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित : २२ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह