Logo

विकास / पूर्वाधार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जनवरी १ मा परीक्षण उडान, काठमाडौंबाट डाइभर्ट हुने जहाजलाई सजिलो


appharu
   ७ श्रावण २०७५, सोमबार


काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो जनवरी १ मा परीक्षण उडान हुने भएको छ । विमानस्थलका संरचनाहरु धमाधम बनिरहेका छन् भने धावनमार्ग पिचका लागि अलकत्रा ओछ्याउने काम सुरु भएको छ ।

३ हजार मिटर लम्बाई रहेको धावनमार्गमा तयार रहेको बेसकोर्शमा आइतबारबाट अलकत्रा हाल्ने काम सुरु भएको हो । विमानस्थल आयोजनाका प्रमुख ईञ्जिनियर ओम शर्माले सन् २०१९ को जनवरी १ मा परीक्षण उडान गर्ने योजना रहेको र सोहीअनुसार तयारी भइरहेको जानकारी दिए ।

बेसकोर्शमा अलकत्रा राखेपछि त्यसमाथि तिन तहको पिच हुनेछ । आयोजना कार्यालयले जति सक्यो छिटो धावनमार्गको काम सकि त्यहीँबाट आन्तरिकतर्फको उडान सिफ्ट गर्ने जनाएको छ । साविकको विमानस्थलको धावनमार्ग भने ट्याक्सी वेमा परिणत हुनेछ ।

आयोजना प्रमुख शर्माका अनुसार जनवरी १ मा वाइड बडीकै जहाजले पनि अवतरण गर्न सक्नेछ । हाल विमानस्थलमा भौतिक पूर्वाधारका कामहरु ६० प्रतिशत सकिएको छ । यो विमानस्थल २०१९ भित्रै पूर्ण रुपले सञ्चालनमा आउनेछ ।

यो विमानस्थल सञ्चालनमा आएपछि नेपाललाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नहुञ्जेल वैकल्पिक विमानस्थलको आवश्यकता पूरा हुनेछ भने त्रिभुवन विमानस्थलमा समस्या आएमा जहाजलाई डाइभर्ट गरेर भैरहवामा अवतरण गराउन सकिनेछ ।

प्रकाशित : ७ श्रावण २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह