Logo

कर्पोरेट-बजार

एक वर्षमा ९७० घरेलु उद्योग दर्ता


GDP नेपाल
   २७ भाद्र २०७८, आइतबार


लमजुङ ।

घरेलु तथा साना उद्योग कार्यालयमा ९७० घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा सो सङ्ख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताउनुभयो ।

जिल्लामा नयाँ घरेलु उद्योग दर्ता गर्नेमा वृद्धि हुन थालेको छ, अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ३०१ नयाँ घरेलु उद्योग बढी रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै आव २०७७/२०७८ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा ३६९ उद्योग नवीकरण गरिएका छन् । वाणिज्यतर्फ एक वर्षको अवधिमा ६४० नयाँ दर्ता भएका छन् । त्यस्तै ५५८ नवीकरण गरिएको घरेलु कार्यालयले जनाएको छ । आव २०७६/७७ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएका प्रमुख भुषालले बताउनुभयो ।

यस अवधिमा २३७ घरेलु उद्योग नवीकरण भएका थिए । त्यस्तै वाणिज्यतर्फ ७६२ नयाँ दर्ता भएका छन् भने २३० नवीकरण गरिएका छन् । आव २०७५/७६ मा जम्मा ४६८ मात्रै कार्यालयमा घरेलु उद्योग दर्ता गरिएका थिए । त्यस्तै यस चालू आवका चार महिनाको अवधिमा ८७ घरेलु उद्योग नवीरण भएका कार्यालय प्रमुख भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार वाणिज्यतर्फ ६२९ दर्ता भएका छन् भने नवीकरण १५७ भएका छन् । आव २०७५/७६ मा उद्योग नवीकरण २७० गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार वाणिज्यतर्फ ४१४ दर्ता गरिएका थिए भने नवीकरण ४५८ गरिएको थियो । त्यस्तै आव २०७४/७५ मा २६७ नयाँ उद्योग दर्ता भएका थिए । त्यस्तै १६४ उद्योग नवीकरण भएको कार्यालयले जनाएको छ । वाणिज्यतर्फ २१० नयाँ फर्म दर्ता भएका थिए भने २६४ को नवीकरण गरिएको थियो । घरेलुमा उद्योग दर्ता गर्दा कानुनी झन्झट नहुने, सरकारी सेवा सुविधा पाउने र स्थानीय तहले घरेलुमा दर्ता गराउनुपर्छ भन्ने सन्देश फैलाएकाले कार्यालयमा दर्ता गर्ने व्यवसायी बढ्दै गएको कार्यालय प्रमुख भुषालको भनाइ छ । उहाँका अनुसार जिल्लाका बँेसीशहर बजार, भोटेओडार, सोती पसल सुन्दरबजार, भोर्लेटारलगायतका स्थानमा पसल बढिरहेका छन् ।

दर्ता भएका उद्योगमध्ये अधिकांश सिलाइकटाई, कृषि फर्म, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, अलैँची, बङ्गुर फर्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । साविक घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा विसं २०४४/४५ देखि हालसम्म चार हजार ७४८ घरेलु उद्योग दर्ता भएका छन् । चार हजार ६६१ वाणिज्यतर्फ फर्म दर्ता भएका कार्यालयले जनाएको छ । विसं २०४४/४५ देखि हालसम्म चार अर्ब भन्दा बढी पुँजी लगानी भएको कार्यालय प्रमुख भुषालले जानकारी दिनुभयो ।

प्रकाशित : २७ भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह